यात्रा : त्रिशुलीमा र्यानफ्टिङ र बीच रिसोर्टमा मौलिक स्वाद |
काठमाडौं । काठमाडौंबाट ७० किलोमिटर दूरीमा छ, धादिङको शितल बजार । पृथ्वी राजमार्गमा रहेको यस बजारबाट त्रिशुली नदी तरेर गएपछि रिभर पार्क बीच रिसोर्ट पुगिन्छ । बजारबाट रिसोर्ट जानका लागि मोटर बोटको व्यवस्था छ ।
नदी किनारको शान्त वातावरणमा रमाउन चाहने पारखीहरु माझ पछिल्लो समय यो रिसोर्ट लोकप्रिय बन्दै गएको सञ्चालक राममणि सिलवालले बताए ।
उनका अनुसार १५ रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्ट २०७४ देखि सञ्चालनमा आएको हो । ‘यहाँ आउनेहरूले रिसोर्टको बसाई निकै आनन्ददायी थियो भनेर प्रतिक्रिया दिने गर्नुभएको छ । हामीले यहाँ स्थानीय स्तरमै उत्पादित अन्न बालीबाट तयार भएका अर्गानिक खाना खुवाएर अतिथीहरुलाई सत्कार गर्ने गरेका छौं,’ सिलवालले भने ।
सुविधायुक्त बसाई
सिलवालका अनुसार रिसोर्टमा १३ वटा रुम, तीनवटा हलको व्यवस्था छ । मौलिकताको झल्को दिनेगरी यहाँका सबै कोठाहरूलाई स्थानीय स्तरकै नाम दिइएको छ, जस्तो सिद्धलेक सदन, गजुरी गाउँपालिका सदन, निलकण्ठ सदन, धुनीबेंसी आदि । त्यस्तै, ग्राहकले चाहेमा टेन्टमा बस्न पाउने सुविधा पनि छ ।
प्रायजसो यहाँका हलमा गोष्ठी र सेमिनारहरू सञ्चालन हुने गरेका छन् । प्रायःजसो यहाँ एक रात बिताउनेगरी पाहुनाहरू आउने गरेका छन् । काठमाडौ, चितवन, पोखरालगायत शहरबाट यहाँ ठूलो संख्यामा मानिसहरु घुमघामका लागि आउने गरेका छन् । उनीहरुलाई बजारबाट मोटर बोट हुँदै रिसोर्टमा लगेर स्वागत गरिन्छ ।
त्यसपछि स्थानीय परिकारहरूबाट बनेका स्न्याक्सहरु लन्चमा खुवाइन्छ । रातको समयमा संगीतका पारखीहरुका लागि डिज्जेसहितको साउन्डसिस्टमको व्यवस्था छ । क्याम्प फायर, बार लगायतको सुविधा पनि छ । अर्गानिक उत्पादनबाट बनेका परिकारहरूको मज्जा डिनरमा लिएपछि भोलिपल्ट बिहानै ब्रेकफास्ट गरेर र्याफ्टिङ, कायाकिङ, क्यानेइङलगायतको तयारी सुरु गरिन्छ । तीन घण्टा त्रिशुलीमा र्याफ्टिङको मज्जा लिएर फर्किएपछि ब्रेकफास्ट गरेर पर्यटकहरु आफ्नो गन्तव्यमा फर्कने गरेका छन् ।
जलयात्रा नगर्नेहरुका लागि बिहान तीन घण्टाको हाइकिङको प्याकेज पनि छ । बिहानै ब्रेक फास्ट लिएर हाइकिङ गर्दै उनीहरु मगर गाउँ पुग्छन् । त्यहाँका स्थानीय उत्पादन र मौलिकता नियालेपछि रिसोर्ट फर्किएर लन्च गर्छन् र गन्तव्यतर्फ लाग्छ । ‘हामीले यही मगरगाउँका उत्पादनहरुको परिकार रिसोर्टमा आउनेहरुलाई पस्कने गरेका छौं,’ सिलवालले भने ।
धादिङ सिद्धलेक गाउँपालिका –४ स्थित यस रिसोर्ट पारिवारिक वातावरणमा रम्न चाहनेहरुको रोजाइमा पर्ने गरेको छ ।


