हिमालय एयरलाइन्सद्वारा प्रयास नेपाललाई शैक्षिक सामाग्री सहयोग |
काठमाडौं । हिमालय एअरलाइन्सले शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता स्वरुप प्रयास नेपाललाई शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ ।
एक कार्यक्रमका बीच एयरलाइन्सले संस्थालाई आवश्यक पर्ने स्टेशनरी, नोट–बुक्स, रजिष्टर, कलम र विभिन्न कक्षाका विद्यार्थीहरूका लागि शैक्षिक पाठ्य पुस्तकहरू प्रदान गरेको हो ।
एयरलाइन्सले कोभिड–१९ विरुद्ध आवश्यक जनचेतना अभिवृद्धि गर्न र त्यस रोगविरुद्ध सुरक्षा मापदण्ड अपनाउन आवश्यक पर्ने विविध शिक्षा मूलक पोष्टरहरु समेत प्रदान गरेको जनाएको छ ।
प्रयास नेपाल ३ जना फरक क्षमता भएका विद्यार्थीहरूका साथ २६ जना बाल–बालिकाहरु रहेको एक अनाथालय हो । विगत केहि वर्षदेखि ती विद्यार्थीहरुले शैक्षिक गतिविधिका साथ नृत्य, खेलकुद लगायतका क्षेत्रमा समेत आफ्नो क्षमता देखाउँदै आइरहेका छन् । हिमालयका पदाधिकारीहरुले विद्यार्थीहरूसँग अन्तक्रिया गर्दै उनीहरुलाई कोभिड–१९ विरुद्ध लड्ने र बच्ने उपायहरु बारे प्रशिक्षण समेत दिएका थिए ।
सो क्रममा हिमालय एयरलाइन्सका ब्रान्ड तथा सेवा सुधार विभागकी प्रमुख उज्ज्वला दलीले प्रयास नेपालका विद्यार्थीहरुको उज्ज्वल भविष्य, शिक्षा दीक्षा र प्रयास नेपालसँगको सहकार्यलाई जीवन्त राख्न प्रतिवद्ध रहेको बताइन् । प्रत्येक विद्यार्थीलाई शिक्षामा पहुँच, समता र सामाजिक सद्भाव कायम राख्दै तिनमा रहेको प्रचुर सम्भाव्यतालाई उजागर गर्दै तिनको सपना र सङ्कल्प साकार पार्नु नै कार्यक्रमको उद्देश्य रहेको उनले बताइन् ।
प्रयास नेपालकी अध्यक्ष मणी जोशीले हिमालय एयरलाइन्स आफ्नो संस्थाको पारिवारीक सदस्यझैँ भएको बताउँदै हिमालयले सन् २०१७ देखि पु¥याउँदै आएको निरन्तर सहयोग प्रति आफू सदा अनुगृहीत रहेको बताइन् ।


