३८ मेगावाटको माथिल्लो आँखुमा पाँच बैंकले ५ अर्ब ५० करोड लगानी गर्ने |
काठमाडौं । ३८ मेगावाटको माथिल्लो आँखुमा पाँच बैंकले ५ अर्ब ५० करोड लगानी गर्ने भएका छन् । सो सम्बन्धमा आँखु खोला हाइड्रोपावर प्रालि र पाँच बैंकबीच आज (मंगलबार) सम्झौता भएको छ ।
उक्त आयोजना बागमती प्रदेशको धादिङ्ग जिल्ला साविक लापा, सेर्तुङ्ग, एवं झार्लाङ्ग गाविस (हालको रुवीभ्याली गाँउपालिका तथा खनियाबास गाँउपालिका) मा निर्माण हुने छ । आंखु खोला हाइड्रो प्रालिद्धारा प्रवद्धित रहेका ३८ मेगावाट क्षमताको माथिल्लो आंखु खोला जलविद्युत आयोजनामा सिटिजन्स बैँक इन्टरनेसनलको अगुवाईमा नेपाल एसबिआइ बैंक, नेपाल बङ्गलादेश बैंक, मेगा बैंक नेपाल र सिभिल बैँकबाट ऋण लगानी गर्ने गरी प्रवद्र्धक कम्पनी एवं बैंकहरु बीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको छ ।
परियोजनाको अनुमानित लागत करीब रु. ७ अर्ब ३३ करोडमा बैंकहरुको ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा रु. ५ अर्ब ५० करोड बराबरको ऋण लगानी रहनेछ र २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ ।
आयोजनाको निर्माण आगामी चार वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रकृया पुरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको छ । निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको नुवाकोट जिल्लामा स्थित त्रिशुली ३ बी हव सबस्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६.७०० गिगावाट घन्टा र वर्खामा १५२.४३८ गिगावाट गरी बार्षिक २१९.१३८ गिगावाट घन्टा खुद विद्युत उत्पादन हुनेछ ।


