कर्मचारी सञ्चय कोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री शर्मा |
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरु उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन्। कोषको ६०औं वार्षिकोत्सव समारोहको भर्चुअलरुपमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन्।
‘सञ्चयकर्ताहरुको पैंसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, जसले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुर्याउँछ। उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ,’ कार्यक्रममा उनले भने।
उनले सञ्चयकर्ताहरुको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए। मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई सञ्चयकर्ताहरुको लागि सहज वातावरण सिर्जना गर्नुपर्ने बताए।
सञ्चय कोषको कूल लगानी आर्थिक वर्ष २०७७-७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ। हालः सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ। निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड छ। कोषको दायित्व ४ अर्ब ६७ करोड रहेको छ।


