क्रिकेटमा कर्पोरेट सहभागिता, शिव शक्ति ग्रुप काठमान्डू किंग्स इलेभेनसँग अनुबन्धित |
काठमाडौं । शिव शक्ति ग्रुपले एभरेष्ट प्रिमियर लिगमा खेल्ने खेल्ने फ्रान्चाइज टोली काठमान्डू किंग इलेभेन लाई स्पोन्सर गर्ने भएको छ। शिव शक्ति ग्रुपको फेमिली ओयल तथा उर्जा राइस र किंग इलेभेनबीच यस बिषयमा सम्झौता भएको हो।
सम्झौताअनुसार एभरेष्ट प्रिमियर लिगमा शिव शक्ति ग्रुप किंग्स इलेभेनको गोल्ड पार्टनर हुनेछ। यस सम्झौताले क्रिकेटमा कर्पोरेट सहभागितालाई प्रोत्साहन गरेको शिव शक्ति ग्रुपमा निर्देशक सन्दिप अग्रवालको भनाई छ।
उनि भन्छन्, “नेपालको खेलकुद क्षेत्र अझै उच्च मुकाममा पुग्न बाँकी छ, हामीले नेपाली टिमलाई विश्व मञ्चमा उत्कृष्ट प्रदर्शन गरेको देखिरहेका छौं । एक अग्रणी व्यापारिक ग्रुप भएको नाताले कर्पोरेट उत्तरदायित्वको महत्व बुझेर हामीले नेपाली क्रिकेटरहरुको प्रतिभामा निखार ल्याउन मद्दत गर्ने नेपालकै उत्कृष्ट लिगमा लगानी गरेका हौं“।
त्यस्तै सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै टेली होल्डिंग प्राइभेट लिमिटेडका अध्यक्ष संजय अग्रवालले कोभिड १९ को महामारीको बीचमा पनि व्यवसायिक वातावरण बनाउन सफल भएको प्रतिकृया दिएका छन्।
उनले भने, ““अहिलेको महामारीको समयमा पनि हामी (किंग्स इलेभेन) र शिव शक्ति ग्रुपले मिलेर समन्वय गर्ने वातावरण बनाउन सफल भएका छौं । यस समन्वयले टिमको हौसलामा वृद्धि गर्नेछ र हामी शिव शक्ति ग्रुपलाई यसको लागि धन्यवाद दिन चाहन्छौं र हामी खेलहरु जितेर इतिहास कोर्न तयार छौं ।”
शिव शक्ति ग्रुप नेपाली बजारमा एक अग्रणी उपभोक्ता उत्पादन निर्माता हो जसको व्यवसायमा अल्मुनियम, प्लास्टिक फेब्रिक, प्याकेजिङ, लुगा धुने साबुन, कृषि जन्य उत्पादनहरु (जस्तै, चामल, तोरीको तेल, भटमासको तेल, सन्फ्लावरको तेल, दाल र अरु खाद्य तेल) पर्दछन्।
त्यस्तै काठमान्डू किंग्स इलेभेन एभरेष्ट प्रिमियर लिगमा सहभागी हुने उत्कृष्ट टिम मध्येको एउटा हो। यो टिम आकर्षक प्रतिभाले भरिएको टोली हो। जसमा पाकिस्तान राष्ट्रिय टोलीका पूर्व कप्तान शाहिद आफ्रिदी, सन्दिप लामिछाने, सुबास खकुरेल, शेर मल्ल र अरु प्रतिभाशाली खेलाडीहरु छन् ।
यसपालि एभरेष्ट प्रिमियर लिग किर्तिपुर मैदानमा यही २५ सेप्टेम्बरबाट सुरु हुँदैछ ।


