हेल्थ एट होमले भित्र्यायो वैदेशिक लगानी, स्वास्थ्य क्षेत्रलाई डिजिटलाइज गर्दै सबैमा पहुँच पुर्याउने |
काठमाडौं । घरघरमा पुगेर उपचार सेवा प्रदान गर्दै आएको हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रालिले बिजनेस अक्सिजन प्रालि मार्फत वैदेशिक लगानी भित्र्याउन सफल भएको छ । स्वास्थ्य क्षेत्रलाई थप डिजिटलाइज गर्दै घरघरमा पुगेर उपचार गर्ने कार्यलाई अझ विस्तार गर्ने उद्देश्यले हेल्थ एट होमले वैदेशिक लगानी भित्राएको हो ।
यो लगानी आएसँगै घरघरमा पुगेर सेवा गर्ने कार्य आम मानिसको पहुँचमा पुग्ने विश्वास गरिएको छ । साथै नयाँ लगानीले जनशक्ति विस्तार र रोजगारी सिर्जनामा पनि नयाँ आयाम ल्याउने अपेक्षा गरिएको छ ।
१२ वर्ष अगाडी डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । हाल हेल्थ एट होम मार्फत करिब १० हजार भन्दा बढी घरले स्वास्थ्य सेवा लिइरहेका छन् ।
हेल्थ एट होममा हाल ४ सय जना भन्दा बढी स्वास्थ्यकर्मी समेत कार्यरत छन् भने हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ । हेल्थ होमले कोभिड महामारीका बेलामा समेत बिरामीहरूलाई घरघरमै पुगेर उपचार गर्दै आइरहेको छ ।
देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ होमले उपत्यका बाहिर तीन वटा शाखा मार्फत समेत आफ्नो सेवा दिँदै आएको छ । हेल्थ एट होमले विभिन्न किसिमका अन्तर्राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ । हेल्थ एट होम २०१२ मा सूर्य नेपाल सामाजिक उद्यम पुरस्कार र २०१४ मा अमेरिकी सरकारबाट सामाजिक कार्यक्रम पुरस्कार समेत प्राप्त गर्न सफल संस्था हो ।



