विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त, आजै पदवहाली गर्ने |
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । घिसिङले आज, साउन २७ गते, बुधबारदेखि नै नेपाल विद्युत प्राधिकरणमा पदबहाली गर्ने भएको छन्। उनले आज प्रधानमन्त्री कार्यालयबाट नियुक्त पत्र लिएपश्चात पदबहाली गर्नेछन्।
२०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनː प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार घिसिङलाई चार वर्षका लागि नियुक्त गरिएको छ । यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा कार्यादेशसहित विशिष्ठ श्रेणीको पूर्णकालीन सदस्यका रुपमा नियुक्त गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने र शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय गरेको थियो । विशिष्ठ श्रेणीको व्यक्तिका लागि आर्थिक दायित्व पर्ने भएकाले अर्थमन्त्रालयबाट स्वीकृति लिनुपर्ने भएकाले नियुक्तिका विषयमा सार्वजनिक गरिएको थिएन ।
गत भदौमा कार्यकाल सकिएपछि नागरिकस्तरबाट घिसिङको पुनः नियुक्तिका लागि आग्रह गरिए पनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले उनलाई अवकाश दिएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको ऊर्जा क्षेत्रमा चमत्कारिक परिवर्तन गर्ने लक्ष्यका साथ घिसिङलाई जिम्मेवारी दिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ ।
चरम लोडसेडिङ भइरहेको बेला तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले घिसिङलाई पहिलो पटक कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । सञ्चित घाटा रु २८ अर्ब रहेको प्राधिकरणलाई नाफामा लगेको र लोडसेडिङ पूर्ण रुपमा अन्त्य गरी उज्यालो नेपाल निर्माणका लागि योगदान गरेका कारण घिसिङलाई आम नेपालीले श्रद्धाका साथ हेर्ने गरेका छन् ।
दुरुहपूर्ण अवस्थामा पुगेको प्राधिकरणलाई सबल र सक्षम संस्थाका रुपमा विकास गरेको तथा रुग्ण भएका आयोजनालाई सम्पन्न गरेका कारण घिसिङलाई पुनः नियुक्तिको माग हुँदै आएको थियो ।



