विद्युत् प्राधिकरणको नाफा ३ अर्ब ३८ करोड मात्रै |
काठमाडौं । दुई आर्थिक वर्ष (आव)देखि सबैभन्दा बढी खुद नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको नेपाल विद्युत प्राधिकरणको नाफा गत आर्थिक वर्ष २०७७∕७८मा करिब ३ अर्ब ३८ करोड रुपैयाँमा खुम्चिएको छ । यो नाफा आर्थिक वर्ष २०७६∕७७मा भन्दा ८ अर्ब ३० करोड रुपैयाँले कम हो ।
गत साउन १० गते ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको स्वागतमा भएको कार्यक्रममा शाक्यले नाफा साढे ५ अर्ब रुपैयाँमा झरेको जानकारी दिएका थिए । तर, त्यो नाफा कर कट्नुभन्दा अघिको भएको पाइएको छ ।
सबै कर कटौतीपछिको खुद नाफा प्राधिकरणले साढे ३ अर्ब पनि पुर्याीउन नकसकेको प्राधिकरण सञ्चालक समितिमा बिहीबार पेश भएको चालु आर्थिक वर्षको बजेटमा उल्लेख छ ।
आव २०७६∕७७ मा ११ अर्ब ६८ करोड खुद नाफा कमाएको प्राधिकरणको एकै वर्षमा ३ अर्ब ३८ करोड रुपैयाँमा खुम्चिन पुगेको हो ।
सञ्चालक समितिमा पेश भएको बजेटमा चालु आवको बजेटमा चालु आर्थिक वर्षको खुद नाफा ३ अर्ब १७ करोड मात्रै हासिल हुने प्रक्षेपण गरिएको छ ।
विगत ४ वर्षमा बजेटको प्रक्षेपणभन्दा बढी नै नाफा आर्जन गर्न सफल प्राधिकरणले गत आवमा भने ठूलो दरमा नाफा घटाएको हो । विद्युत चुहावट बढेको, आफ्ना विद्युत गृहहरुको उत्पादन घटेको, भारतबाट महंगो विद्युतको आयात बढाउँदा विगत ४ वर्षदेखि वित्तीय अवस्थामा सुधार गरी सबल बन्दै गएको प्राधिकरणको नाफा ओरालोतर्फ लागेको हो ।
आव २०७२∕०७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद घाटा बेहोरेको प्राधिकरण त्यसपछिका आवहरु २०७३∕०७४, २०७४∕०७५,२०७५∕०७६ र २०७६∕०७७ मा क्रमशː एक अर्व ५० करोड, २ अर्व ८५ करोड, ९ अर्व ८१ र ११ अर्ब ६८ करोड रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको थियो । ३४ अर्ब ६१ करोडको सञ्चित नोक्सानी धनात्मक बनेको थियो । गत आवको बाहेकका सबै वित्तीय विवरण महालेखा परीक्षकको कार्यालयबाट अन्तिम लेखापरीक्षण भएका हुन् ।
ऊर्जामन्त्री भुसालले राजीनामा मागेपछि गत साउन २० गते पत्रकारसँग भेटघाट गर्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोभिड–१९ले मिटर रिडिङ गर्न नसकिएको, आन्तरिक उत्पादन घटेको तर विद्युतको खपत बढ्दा भारतबाट आयात बढेको, चुहावट बढेको, डेडिकेटेड महसुल समायोजन गरिएको जस्ता कारणले नाफा घटेको बताएका थिए ।



