इन्भेष्टमेन्ट–हिमालयन एकीकृत कारोबार कार्तिक १ देखि, हबिबको शेयरमा सबैको आँखा |
काठमाडौं । बहुचर्चित बिग मर्जरको रूपमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रियामा पाकिस्तानको हबिब बैंकको स्वामित्वमा रहेको २० प्रतिशत संस्थापक शेयर कसले किन्ने भन्ने लुछाचुँडीले त्यहाँ आन्तरिक खिचातानीको अवस्था सिर्जना गरेको छ ।
त्यसो त कार्तिक १ गतेदेखि एकीकृत कारोबार गर्ने तयारीमा दुवै बैंक रहेका छन् । निर्धारित मितिमा एकीकृत कारोबार हुनेमा आफूहरू ढुक्क रहेको कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक समेत रहेका हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले बताएका छन । अध्यक्ष गौतम भन्छन्, ‘असोज भरिमा मर्जरका सबै काम पुरा गर्छौँ र कार्तिक १ देखि एकीकृत कारोबार गर्न प्रतिबद्ध छौं ।’
गौतमका अनुसार आर्थिक वर्षको अन्त्य आइपुगेको हुँदा दुई वटै बैंकको अलग अलग नाफा देखाउनु पर्ने र सो मुनाफा वितरण पनि अलग अलग गर्नुपर्ने भएकोले एकीकृत कारोबार लगायतका काममा ढिला भएको हो। दुई वटै बैंकको वार्षिक साधारण सभा पनि अलग अलग गरेर सक्नु पर्ने छ। मर्जरमा अरू कुनै समस्या भने नरहेको उनले बताए।
हिमालयन बैंकका तर्फबाट आफ्ना कर्मचारीहरूलाई सबै जसो महत्त्वपूर्ण विभागको जिम्मेवारी दिनुपर्ने लगायतका अस्वाभाविक माग र सर्त धेरै आउने गरेको कारण वाक्क लाग्न थालेको इन्भेष्टमेन्ट बैंकका एक सञ्चालकले बताए । आफू छुचो देखिने डर रहेकोले नाम उल्लेख नगर्न अनुरोध गर्दै उनले भने, ‘यस्तो पेलाईले पनि कहीँ हुन्छ ।’
यो विषयलाई बजारमा चर्चा गर्नेहरूले राणाको पेलाइमा पाँडे परेको भनेर टिप्पणी गरिरहेका छन्। हुन पनि नेपाल इन्भेष्टमेन्ट बैंकका सञ्चालकहरू यति वाक्क मान्न थालेका छन् कि मर्जरको कुरा गर्दा पहिले निकै उत्साहित हुने उनीहरू हिमालयन बैंक पक्षका सञ्चालकहरूको फुर्ती र चाहिँदो∕नचाहिँदो सर्तका कारण यसबारे बोल्न नै अनिच्छा व्यक्त गर्न थालेका छन्।
हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकले होल्ड गरेको २० प्रतिशत शेयर किन्न शेयर बजारका अन्य ठूला लगानीकर्ताले समेत चासो देखाएका छन्। अहिले पछिल्लो दिनमा शेयर खरिदको विषय चर्चामा आएको प्रमुख कारण पनि यही रहेको हिमालयन बैकका अर्का सञ्चालक बताउँछन्। तर, त्यसमा लगानी गर्ने लोभ कसैले नगर्दा हुने देखिन्छ। किनकि संस्थापक शेयरको सम्बन्धमा यी दुई बैंक मको मर्जर सम्झौतामा नै सबै कुरा स्पष्ट गरिएको छ। हिमालयन बैंकका अन्य संस्थापक लगानीकर्ताले हबिबको शेयर खरिदमा प्राथमिकता पाउने भन्ने विषय यी दुई बैंक बिच भएको मर्जको सम्झौतामा नै उल्लेख गरिएको छ।




