निर्यात व्यापार प्रवद्र्धनमा उद्योग संगठन मोरङको सहजीकरण |
काठमाडौं । मोरंग व्यापार संघ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवाहन आयोजनाले संयुक्त रुपमा ‘निर्यात प्रवद्र्धन, पारवहन र व्यापार सहजीकरण’ विषयक अन्तरक्रिया कार्यक्रम बुधवार आयोजना गरेको छ ।
कार्यक्रममा संघका अध्यक्ष प्रकाश मून्दडाले हाल मुलुकको अर्थतन्त्रलाई ‘भी’आकारमा पुनरुत्थान गर्नुपर्ने आवश्यक रहेको बताए ।
उनले नेपाल भू–परिवेष्ठित एवं समुद्रीमार्गका लागि परनिर्भर मुलुकभएकाले निर्यात तथा अन्तरराष्ट्रिय व्यापारिक गतिविधिका लागि त्यस्ता अवरोधहरु हुँदापनि मुलुकको निर्यात प्रवद्र्धन र नेपाली उत्पादनहरुलाई अन्तरराष्ट्रिय बजारमा सहजपहुँच र प्रतिस्पर्धि बनाउन विभिन्न रणनीतिहरुको अवलम्बन गरिनु पर्ने बताए ।
निर्यातजन्य उद्योगहरुलाई आयकरमा विषेश छूट र न्यूनतम् ब्याजदरमा ऋण उपलब्ध गराउनु पर्ने, डिउटी ड्र व्याक सुविधा सम्बन्धितभन्सार कार्यालयहरुबाटै उपलब्ध गराउनु पर्ने, भ्यालू एडिसनको आधारमा निर्यात अनुदानकायम गरी अनुदानको दायरा बढाउनु पर्ने, अन्तरराष्ट्रियस्तरको गुणस्तर मापदण्ड र मान्यताप्राप्त व्यापार सहजिकरण निकायको व्यवस्थापन गरिनु पर्ने, निर्यात प्रर्वद्धन एवं विकासकालागि अध्ययन एवं नियमन निकायलाई सक्रिय बनाउनु पर्ने, सुनसरीको अमडुवामा अवस्थित ६३२ बिघा जग्गालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्नुपर्ने जस्ता सुझावहरु सो अवसरमा अध्यक्ष मूदन्डाले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव प्रकाश दाहालले मुलुकको वैदेशिक व्यापारको अवस्था, निर्यात भई रहेका वस्तुहरुको अवस्था, निर्यात प्रवर्द्धनका लागि मन्त्रालयले चालेका कदमहरु, नेपालको पारवहन व्यवस्था तथा व्यापार सहजीकरणका कार्यहरु बारे जानकारी गराएका थिए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष पवनकुमार सारडाले बंगलादेशले अवलम्बन गरेका आयातनिर्यात नीतिहरुबाट १० वर्षको अन्तरालमै फड्को फेर्दै अन्तरराष्ट्रिय बजारमा भारतलाई समेत चुनौति दिइ रहेको उल्लेख गर्दै नेपालले पनि त्यस प्रकारका नीतिहरु अवलम्बन गर्नुपर्ने वताए ।
त्यस्तै, संघका पूर्व अध्यक्ष महेश कुमार जाजूूले अन्तरराष्ट्रियस्तरमा हुने मेला महोत्सवहरुमा नेपाली उत्पादनहरुको समेत प्रदर्शनीका लागि मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गरी सहजीकरण गरिदिनु पर्ने बताए ।
संघका सचिव अनिलकुमार सारडाज्यूले निर्यात अनुदान भ्यालू एडिसनको आधार दिइनु पर्नेमा जोड दिंदै निर्यातमा एक्साईज रिफन्डको व्यवस्थासमेत गर्नु पर्ने, ग्रिनवर्गिकरणमा औद्योगिक कच्चापदार्थको जाँचपास गर्नुपर्ने, भन्सार मूल्यांकनलाई ६/ ६ महीनामा पुनरावलोकन गर्नुपर्ने बताए ।
त्यसैगरी संघका उपाध्यक्ष विकास कुमार वेगवानीले गुणस्तर तथा नापतौलका ऐनहरुमा नवीकरणको एकै दिन ढिलाईमा पनि जेल चलानसम्मका प्रावधान अव्यवहारिक रहेकोले त्यसको तत्कालै सुधार गर्नुपर्ने बताए ।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, वरिष्ठ उपाध्यक्ष सुयस प्याकुरेल, विराटनगर भन्सार कार्यालयका प्रमुख शिव भण्डारी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
अन्त्यमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले अन्तरक्रिया कार्यक्रमबाट उठेका चासोहरुप्रति सरकारबाट भए÷गरिएकाकार्यहरु बारे स्पष्टपार्नु भई बाँकी विषयहरु सम्बन्धित स्तरबाट छलफल गर्ने र तत्परताका साथ समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।




