पूर्वमा प्रवेश गर्यो मनसुन, सरदरभन्दा बढी वर्षा हुने |
काठमाडौँ । नेपालमा शुक्रबारदेखि मनसुन सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर बंगालको खाडी आसपास विकसित भएको न्यूनचापीय क्षेत्रका कारण शुक्रबार पूर्वीभागमा मनसुन प्रवेश भएको घोषणा गरेको छ ।
’प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा मनसुनको आगमन भएको छ’, बुलेटिनमा भनिएको छ, ’एक दुई दिनमा नै मनसुन देशैभरी फैलिने सम्भावना रहेको छ ।’ महाशाखाले अर्को साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम र केही स्थानहरुमा भारी तथा थोरै स्थानमा धेरै भारी वर्षा (अतिवर्षा) को सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
नेपालमा जेठ अन्तिमदेखि असोज पहिलो सातासम्म मनसुनी वर्ष सुरु हुन्छ । मौसमविद्हरुका अनुसार नेपालमा करिब १ सय लिन मनसुन सक्रिय हुन्छ ।
मनसुन अवधिमा नेपालका धेरैजसो भू–भागहरुमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यो वर्ष जेठ १८ देखि असोज १४ सम्मलाई मनसुन अवधि मानेको छ । तर आकलन गरिएको मितिभन्दा एक साताअघि नै मनसुन प्रवेश भएको छ । विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने देखिन्छ ।
यस्तै, प्रदेश १ को मध्य तथा हिमाली भागहरुमा पनि सरदरभन्दा बढी (३५–६५ प्रतिशत) वर्षा हुने आकलन गरिएको छ । लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको तराई र प्रदेश २ को पश्चिम भूभागमा भने सरदर (३५–४५ प्रतिशत) र प्रदेश १ को तराई र प्रदेश २ को पूर्वी जिल्लाहरुमा सरदभन्दा कम (३५–४५ प्रतिशत) वर्षा हुनेछ ।
सरदर वर्षा भन्नाले कुनै पनि मौसम मापन केन्द्रको लामो समय (सन् १९८१–२०१०) को ३३.३ देखि ६६.६ प्रतिशत वर्षालाई जनाउँछ । सरदरभन्दा कम र बढी वर्षा भन्नाले क्रमशः ३३.३ प्रतिशतभन्दा कम र ६६.६ प्रतिशतभन्दा बढीको वर्षालाई जनाउँछ ।
गत वर्ष विभागले नेपालभर सरदर वर्षा हुने आकलन गरे पनि असमान वर्षा भएको थियो । केही भागमा सरदर, केही भागमा सरदरभन्दा बढी र केही भागमा कम वर्षा भएको थियो । यद्यपि पहिरोजन्य क्षति भने अत्यधिक निम्त्याएको थियो ।
विभागले विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरुको हावापानी प्रारुप आकलन, मनसुनी वर्षा आकलन गर्ने प्रारुप र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनका आधारमा मनसुन प्रक्षेपण गरेको हो ।
वैशाख १५ मा भर्चुअल माध्यामबाट भएको दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ) को १९ औं सत्रले दक्षिण एसियाका धेरै भूभागहरुमा आगामी मनसुन अवधिमा साधारणतया सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ । मञ्चमा नेपाल, भारत, म्यानमारलगायत दक्षिण एसियाली ९ वटा मुलुकका मौसमविद् र विश्व मौसम संगठन (डब्लूएमओ), डब्लूएमओको क्षेत्रीय जलवायु केन्द्र, पुने भारत, यूके मेट अफिस, राइम्स, थाइल्यान्ड, अमेरिका, जापानलगायतका प्रतिनिधि हुन्छन् ।
विशेषज्ञहरुले दक्षिण एसियाका उत्तर पश्चिमी, हिमालयका काख र उत्तरपूर्वी भेगमा केही भूभागहरु र मध्यभागका धेरै भूभागहरुमा सरदरभन्दा बढी वर्षा हुने आलकन गरेका छन् ।
सुदूर उत्तर पश्चिमी र उत्तर पूर्वी भागका धेरै भूभागहरुमा सरदरभन्दा कम वर्षा हुने विशेषज्ञहरुको विश्लेषण छ ।
गत वर्षको जुलाईबाट प्रशान्त महासागरमा सुरु भएको मध्यमस्तरको लालिना हाल आएर अत्यन्तै कमजोर हुँदै करिव तटस्थ अवस्थामा रहेको छ । आगामी मनसुन अवधिमा तटस्थ अवस्थामा परिणत हुने आकलन गरिएको छ ।
हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय सामुद्रिक तापक्रम सूचक हाल तटस्थ रहे पनि मनसुन अवधिको अन्त्यतिर ऋणात्मकतिर विकसित हुने आकलन गरिएको छ ।


