माथिल्लो तामाकोशीको ‘वेट टेस्ट’ सफल, पहिलो युनिटबाट केही दिनभित्रै व्यवसायिक उत्पादन |
काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा विद्युत उत्पादनका लागि ‘वेट टेस्ट’ सुरु भएको छ । आयोजनाले ७६ मेगावाटको पहिलो युनिटको ‘वेट टेस्ट’ थालेको छ । तीन दिनको लगातारको प्रयासपछि सोमबारबाट वेट टेस्ट सुरू भएको हो, जसले सकारात्मक नतिजा दिएको छ ।
आयोजना प्रमुख विज्ञान श्रेष्ठका अनुसार अब क्रमैसँग सुरुङसहित अन्य प्राविधिक परीक्षण गरिनेछ । यसअघि परीक्षणका लागि भरिएको दुई आयोजनाको ठाडो सुरुङ जोड्ने पेनस्टकको ‘म्यानहोल’को बिर्कोबाट पानी चुहिएको थियो ।
त्यो समाधान गरेर पानी भर्दा सुरुङमार्गको एउटा अडिट टनेलको गेटबाट पनि पानी चुहिएपछि सुरुङ खाली गर्दा पानी सुदपयोग गर्दै ‘वेट टेस्ट’ पनि गरिएको हो । समस्याहरुको समाधान गरेर आयोजनाले टर्वाइन चलाएर ‘वेट टेस्ट’ गरेको हो । अब सुरुङको सुपरीवेक्षण गरेर फेरि पानी भर्नुपर्ने हुन्छ । अहिले पानी भर्न बन्द गरेर चुहिएको मेकानिकल गेट मर्मतको काम चलिरहेको छ ।
‘वेट टेस्ट’ आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण हो । विद्युत गृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी सुरुङबाट आएको पानीलाई पेनस्टक पाइप हुँदै विद्युत गृहमा रहेको टर्वाइनमा झारेर यो काम गरिन्छ । त्यसबाट जेनेरेटर, कन्ट्रोल प्यानेल लगायतका उपकरणहरु डिजाइन अनुसार चले∕नचलेको हेरिन्छ तर, विद्युत् भने उत्पादन गरिँदैन ।
आयोजनामा गत वैशाख १६ मा सुरुङमा पानी हालेर परीक्षण शुरु गरिएको थियो । सुरूङमा पानी भर्न थालेको अवसरमा स्विच थिच्न दुई जना विभागीय मन्त्री दोलखाको लामाबगर पुगेका थिए ।
पहिलो युनिटबाट व्यवसायिक उत्पादनको तयारी
सोमबार ७६ मेगावाट क्षमताको पहिलो युनिटको मेकानिकल परीक्षण गर्दा कुनै समस्या नदेखिएको केही दिनमै व्यवसायिक उत्पादनको तयारी गरिएको हो । आयेजना प्रमुख विज्ञान श्रेष्ठका अनुसार पहिलो युनिटको प्राविधिक परीक्षण सफल भएपछि अरु युनिटहरूको परीक्षण तीव्र पारिएको छ ।
विभिन्न चरणको परीक्षणपछि एउटा युनिटबाट केही दिनमै विद्युत उत्पादन सुरु हुने श्रेष्ठले बताए । ढिलोमा ३ सातामा सबै किसिमका परीक्षण पुरा गरेर विद्युत उत्पादन सुरु गर्ने तयारी छ । केही समय अघि दोस्रो अडिट टनेलमा परीक्षण गर्दा केही समस्या देखिएको थियो । पानी चुहिएपछि परीक्षणको काम स्थगित गरिएको थियो ।
आयोजनाको जलाशय, बाँध लगायतका भौतिक तथा अन्य प्राविधिक संरचनाको परीक्षण यसअघि नै भइसकेको छ । उक्त परीक्षण पुरा भए पछि बैशाखभित्रै पहिलो युनिटबाट नियमित विद्युत उत्पादन सुरु हुने अनुमान आयोजनाले गरेको थियो । तर केही प्राविधिक समस्याले गर्दा निर्धारित समयमा आयोजनाबाट व्यवसायिक उत्पादन हुन ढिलाइ भएको हो ।
स्वदेशी लगानीमा निर्माण भएको माथिल्लो तामाकोसी सबैभन्दा ठूलो आयोजना हो । दोलखास्थित यस आयोजनाबाट ४५६ मेगावाट विजुली उत्पादन हुनेछ । आयोजनामा विभिन्न युनिटमा ७६ मेगावाट क्षमताको ६ वटा टर्वाइन जडान गरिएको छ । आगामी असार मसान्त भित्रमा ३ वटा युनिटबाट ७६ मेगावाटका दरले २२८ मेगावाट विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको छ । निर्माण सकिएपछि गत वैशाखको दोस्रो हप्तादेखि नै माथिल्लो तामाकोसीको जलाशय भरेर परीक्षण सुरू गरिएको थियो ।
निर्माण शुरु गर्दाताकाको लक्ष्यअनुसार काम भएको भए ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना २०७३ असार मसान्तमै बनिसक्नुपर्ने हो । तर समयमै काम नभएपछि स्वदेशी लगानीमा बनिरहेको आयोजनाको म्याद पटक–पटक थपियो । तर अझै आयोजना बनिसकेको छैन ।
यो आयोजना निर्माणमा जति लम्बियो, त्यति नै लागत पनि बढ्यो । २०६५ सालमा निर्माण थाल्दा आयोजनाको लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख लागत अनुमान थियो । तर, निर्माण सम्पन्न हुँदासम्म ब्याजबाहेककै लागत ५३ अर्ब नाघ्ने अनुमान छ । अहिले पछिल्लो समयमा अनुमानित लागत आकाशिएर करिब ८० अर्ब पुग्ने अनुमान गरिएको छ । निर्माण अवधि करिब ५ वर्ष लम्बिँदा ब्याज, मूल्य समायोजन, विदेशी विनिमय दरमा भएका नोक्सानी र प्रशासनिक खर्च पनि बढेको आयोजनाको दाबी छ ।
ठेकेदारहरुले भुक्तानीमा पाउने डलर र युरोको मूल्य बढ्दा पनि आयोजनाको लागत थपियो । २०६६ सालमा अमेरिकी डलरको भाउ ८० रुपैयाँ आकलन गरिएको थियो, अहिले १२० भन्दा माथि छ । भूकम्प, नाकाबन्दी र कोरोना महामारीका कारण ढिला बनेको आयोजनाले अन्तर्राष्ट्रिय रुपमा भएको मूल्यवृद्धि र डलरको मूल्य बढेर नेपाली मुद्रामा भएको अवमूल्यनले पनि मार खेपेको छ ।
हाइड्रोमेकानिकलतर्फ भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोले समयमा काम नसक्दा लागत भारी वृद्धि भएको हो । भूकम्पपछि आयोजनाको काम डेढ वर्षसम्म रोकिएको थियो । भूकम्पका कारण पहुँचमार्गहरु भत्किएपछि करिब तीन सय ६० मिटरको सुरुङ निर्माण गर्नुपरेको थियो । बाँधबाट सुरुङभित्र पानी पठाउने इन्टेक १९ सेन्टिमिटर भासिएको थियो । ठेकेदारका आवासगृह पनि क्षतिग्रस्त भएका थिए ।
रुग्ण बनिसकेको यो आयोजनालाई प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले ब्युँताएका थिए । आयोजनामा ढिलाइ हुन नदिन घिसिङ महिनाको एक पटक आयोजनास्थल दोलखाको लामाबगर जाने गरेका थिए । यो बीचमा मुख्य सुरुङको अन्तिम खण्डमा पानीको भार थेग्न नसक्ने कमजोर चट्टान फेला परेपछि डिजाइन परिवर्तन गर्नुपरेको थियो ।
विद्युत प्राधिकरणले तामाकोशीलाई गेमचेन्जर आयोजना भन्दै आएको छ । यो आयोजनाबाट वर्षमा करिब २ अर्ब ४५ करोड युनिटसम्म बिजुली उत्पादन हुनेछ ।
२२ मेगावाटको रोल्बालिङ खोला मिसाएपछि त्यस्तो क्षमता २ अर्ब ६२ करोड युनिटसम्म पुग्नेछ । त्यसका लागि रोल्बालिङलाई तामाकोशीमा मिसाउन निर्माण प्रक्रिया शुरु भइसकेको छ । तामाकोशी बनेपछि पिक आवर – धेरै बिजुली माग हुने बिहान (बेलुकीको समय) मा यो आयोजनाबाट ४५६ मेगावाट उत्पादन गर्न सकिन्छ । सुख्खायाममा साँझको समयमा तामाकोशीमा ४ घण्टासम्म पानी थुनेर चलाउने (पिकिङ) योजना छ ।
विद्युत प्राधिकरणका अधिकारीहरुका अनुसार माथिल्लो तामाकोशी साँझमा चलाए हिउँद महिनाका पिक आवरमा समेत भारतबाट ल्याउनुपर्ने बिजुलीको परिमाण घट्नेछ भने अरु बेला नेपालले राम्रै परिमाणमा बिजुली बेच्न सक्छ । त्यो परिमाण हिउँदमा नेपालले भारतसँग किन्नेभन्दा बढी हुने प्राधिकरणको अनुमान छ ।

