१ करोड डोज खोप किन्ने प्रकृयामा छौं, १५ दिनमै ब्रेक थ्रु हुन्छ ː परराष्ट्रमन्त्री ज्ञवाली |
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनबाट ५० लाख र अमेरिकाबाट ५० लाख डोज खोप खरिद प्रकृया अगाडी बढाइएको भन्दै केही दिनमै यो प्रकृयामा ब्रेक थ्रु हुने दावी गरेका छन् ।
स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा मन्त्री ज्ञवालीले केही देशले सहयोग घोषणा गर्ने र केही देशसँग खरिद प्रकृया सुरू हुन लागेकाले १५ दिनमा ‘ब्रेक थ्रू’ हुने दावी गरे ।
‘खोप खरीदका लागि मुख्य गरी चीन र अमेरिकामा केन्द्रित भएका छौं। चीनसँग ५० लाख र अमेरिकासँग ५० लाख गरी एक करोड डोज खरीदको योजना छ’ ज्ञवालीले भने ।
खोपका लागि नेपाल अनुदानमा मात्रै भर नपरी खरिद गर्न लागि मन्त्री ज्ञवालीले प्रष्ट्याए । त्यसका लागि अर्थ मन्त्रालयले ३६ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरिसकेको छ । अमेरिका, बेलायत लगायतका देश खोप दिन सकारात्मक रहेको भन्दै उनले भने, ‘सन् २०२१ को अन्तिमसम्म लक्षित समूहलाई खोप दिने लक्ष्यअनुसार विभिन्न देशमा पहल गरिरहेका छौं ।’
परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार चीनले अनुदानमा दिने भनेको १० लाख डोज खोप जुन २ तारिखमा काठमाडौं आइपुग्नेछ । चीन र नेपालका राष्ट्रपतिबीच सम्वाद भए लगतै चीनले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो ।
यसअघि चीनले ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो, जसको दोस्रो डोज छुटेकाहरुले अहिले लगाइरहेका छन् ।


