कोरोना रोकथाम तथा उपचारका सामग्री छिटो आयातका लागि शीघ्र जाँचपास कार्यविधि लागु |
काठमाडौं । भन्सार विभागले कोभिड–१९ रोकथाम तथा उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि कार्यान्वयनमा ल्याएको छ ।
नेपाल सरकारले कोभिड–१९ नियन्त्रण र उपचारलाई प्राथमिकतामा राख्दै आवश्यक विभिन्न वस्तुको पैठारीमा महसुल छुट दिने निर्णय गरेको भन्दै कोभिड–१९ रोकथाम तथा उपचारका लागि अत्यावश्यक वस्तुको पैठारीमा सहजीकरण गर्न शीघ्र भन्सार जाँसपास गर्ने व्यवस्था आवश्यक रहेकोले भन्सार ऐन २०६४ को दफा ९३ अनुसार विभागले उक्त कार्यविधि लागु गरेको जनाएको छ ।
पैठारीकर्ताले अत्यावश्यक सामान पैठारी गर्न नियमित प्रक्रियाअनुसार नै आवश्यक कागजातसहित त्यस्ता मालवस्तु उल्लेख गर्नुपर्ने भन्सार विभागले जनाएको छ । तर, प्रज्ञापनपत्रसाथ पेस गर्नुपर्ने कुनै कागजात तत्काल पेस गर्न नसकेमा त्यस्तो कागजात पछि पेस गर्ने सर्तमा भन्सार अधिकृतले यस्तो मालवस्तु जाँसपास गर्नसक्ने विभागले जनाएको छ ।
“यसरी जाँसपास भएकोमा मानसिव समयभित्र पैठारीकर्ताले त्यस्तो कागजात विद्युतीय माध्यमबाट वा भौतिक रुपमा भन्सार अधिकृतसमक्ष पेस गर्नुपर्नेछ,” कोभिड–१९ को रोकथाम तथा उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँसपास कार्यविधि, २०७८ मा भनिएको छ ।
भन्सार अधिकृतले जाँचपास गर्दा अध्यावश्यक वस्तुलाई प्राथमिकता दिनुपर्ने कार्यविधिमा उल्लेख छ । यसको लागि भन्सार कार्यालय प्रमुखले आफ्नो कार्यालयमा आवश्यक कर्मचारीसहित छुट्टै इकाइ खडा गरी कर्मचारी खटाउनुपर्ने उल्लेख छ ।
“आपूर्ति व्यवस्थालाई सहज र शीघ्र बनाउन कार्यालयको नियमित समयभन्दा अघि वा पछि सार्वजनिक बिदाको दिनमा पनि यात्रु जाँचपासकक्ष वा काउन्टरबाटसमेत अत्यावश्यक मालवस्तु जाँचपास गर्ने गरी भन्सार कार्यालयको प्रमुखले आवश्यक व्यवस्था गर्नुपर्नेछ,” कार्यविधिमा भनिएको छ ।
अत्यावश्यक मालवस्तुमध्ये गुणस्तर प्रमाणित भएपछि मात्रै जाँचपास गर्नुपर्ने प्रकृतिको वस्तु भने गुणस्तर प्रमाणित भएपश्चात् मात्रै जाँचपास गर्नुपर्ने कार्यविधिमा भनिएको छ ।



