सामाजिक सुरक्षामा नगएको सनराइजले निधन भएकी कर्मचारीको परिवारलाई तिर्नुपर्ने भयो ४३ लाख |
काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नमान्ने सनराइज बैंक कारवाहीमा परेको छ । योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रममा सहभागी नभएको सनराइज बैंकका एक कर्मचारीको मृत्यु भएपछि उनको परिवारले दिएको मगदावीका आधारमा सनराइज बैंक कारवाहीमा परेको हो ।
समाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीका अनुसार करिब १० महिनाअघि सनराइज बैंकमा कार्यरत सनाज खतिवडाको मृत्यु भएको थियो । उनले मासिक ४२ हजार तलब लिन्थिन् । तर, उनी कार्यरत बैंकले समाजिक सुरक्षा कोषमा योगदान गर्न मानेका थिएन ।
तर, उनको मृत्युपछि परिवारले सनाजको नियुक्तिपत्रसहित क्षतिपूर्ति माग्दै समाजिक सुरक्षा कोषमा उजुरी दर्ता गराएको थियो । सनाजका बुवा ध्रुबकुमार खतिवडा र आमा गीता घिमिरेले वैशाख २०मा आश्रति परिवार सुविधा योजना अनुसार क्षतिपूर्ति माग्दै निवेदन दर्ता गराएका थिए । त्यसको अध्ययन गरेर कोषले सो परिवारलाई ऐनअनुसार क्षतिपूर्ति भराउन भन्दै बैंकलाई पत्र काटेको छ ।
कोषले ७१ वर्षलाई औसत आयु मानेर मृतककी बुवा र आमाको आयुको हिसाव गरेर क्षतिपूर्ति रकम तय गरेको हो । बैंकले सो परिवारलाई ४३ लाख ३४ हजार रूपैयाँ उपलब्ध गराउनुपर्ने पन्थीले बताए । मृतकको मासिक तलवको ६० प्रतिशतले हुने एकमुष्ट रकमलाई आश्रति परिवारले मासिक पाउने पेन्सनको आधारमा यस्तो हिसाव निकालिएको हो ।
तीन महिनाभित्र सो रकम दिलाएर कोषलाई जानकारी गराउनुपर्नेछ । यदि निर्देशन नमानेमा बैंकको खाता रोक्का गर्दै बैंकको सम्पतिबाटै सो क्षतिपूर्ति भराउन सक्ने अधिकार कोषसँग छ ।



