युनिलिभरको नाफामा आकर्षक बृद्धि, प्रतिशेयर आम्दानी ५६९ रुपैयाँ |
काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आकर्षक नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड ६३ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ३२ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ ।
समीक्षा अवधिमा कम्पनीले उत्पादन बिक्री गरेर एक अर्ब ७३ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले एक अर्ब ७ करोड आम्दानी गरेको थियो । बिक्री आम्दानी बढ्दा उसको नाफा बढेको हो ।
कम्पनीको अन्य स्रोतबाट ८१ लाख आम्दानी गरेको छ । कम्पनीले यस अवधिमा एक अर्ब ३२ करोड कुल खर्च गरेको छ । गत वर्ष यस्तो खर्च १ अर्ब २० करोड थियो ।
हाल ९ करोड २१ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ३६ करोड रुपैयाँ छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ५६९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २ हजार ६६६ रहेको छ ।



