नेपाल इन्भेष्टमेन्टको खुद नाफा बढ्यो |
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा सामान्य बढेको छ भने ईपीएस स्थिर रहेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब २९ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.०९ प्रतिशत बढी हो।
खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.३१ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ११.८६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा समीक्षा अवधिमा १५.७८ प्रतिशत बढेको छ।
चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ पुगेको छ।
खुद नाफा बढपनि बैंकको प्रतिशेयर आम्दानी भने स्थिर रहेको छ। चैत मसान्तसम्ममा बैंकको यस्तो आम्दानी २३ रुपैयाँ ३५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९.८६ गुणा र प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ७२ रहेको छ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी १४.०९ प्रतिशत बढेको छ भने जगेडा कोष ९.०८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ०.२४ प्रतिशत घटेको छ भने कर्जा १५.५५ प्रतिशत बढेको छ।
गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा ०.३५ प्रतिशतविन्दु घटेर २.३२ प्रतिशतमा झरेको छ।


