एनसीसी बैंकको नाफा ५.५५ प्रतिशतले घट्यो |
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब १० करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.५५ प्रतिशत कम हो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेपछि बैंकको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.८६ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २५.३० प्रतिशत बढेको छ। बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ५.६२ प्रतिशत घटेको छ।
चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८७ करोड ९३ लाख रुपैयाँ पुगेको छ।
खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ३९ पैसा घटेर १४ रुपैयाँ २३ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.६९ गुणा रहेको छ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी १०.२७ प्रतिशत बढेको छ भने जगेडा कोष ३.६९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ३९.८३ प्रतिशत र कर्जा ३६.२५ प्रतिशत बढेको छ।
गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा ०.७० प्रतिशतविन्दु घटेर २.०५ प्रतिशतमा झरेको छ।


