माथिल्लो तामाकोसीको मुख्य सुरुङमा आज पानी छाडिँदै, बैशाखभित्रै ६७ मेगावाट उत्पादन |
कृष्ण प्रसाद भट्टराई
काठमाडौँ । बहुप्रतीक्षित माथिल्लो तामाकोसी (४५६ मेगावाट) को निर्माण कार्य सकिएको छ । दोलखाको विगु गाउँपालिका– १ स्थित लामाबगरमा निर्माणाधीन यस आयोजनाको मुख्य सुरूङमा आदेखि पानी छाडिने भएको छ ।
विगत १० वर्षदेखि निर्माणाधीन रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले वैशाखभित्रै विद्युत उत्पादन थाल्ने भएको हो । पूर्ण स्वदेशी लगानीमा निर्धाणाधीन कुल ४५६ मेगावाट क्षमताको यस आयोजनाले बैशाखभित्रै ६७ मेगावाट उत्पादन थाल्ने बताइएको छ ।
आयोजनाको मुख्य सुरुङमा आज (बिहीबार) पानी पठाउने तयारी सबै पूरा भएको छ । आयोजनाकै सबभन्दा जटिल मानिएको ३१० मिटरको माथिल्लो र ३७३ मिटरको तल्लो भर्टिकल सुरुङको बीचको तेर्सो भागमा जडान थालिएको पेनस्टक पाइपको कार्य सम्पन्न भइसकेको छ । यससंगै मुख्य सुरुङमा पानी हालेर परीक्षण सुरु गर्न लागिएको हो । परीक्षण सफल भएमा यसै महिनाभित्र विद्युत उत्पादन सुरू हुनेछ ।

सिभिल र हाइड्रो मेकानिकल संरचनामा पानी परीक्षण कार्य सहुनेछ । यो कार्य सफलतापूर्वक सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युतगृहमा जडान गरिएका ६ वटा टर्बाइन र ६ वटा जेनेरेटरहरूको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुने बताइएको छ ।
सोही क्रममा पहिलो युनिटबाट २०७८ वैशाख मसान्तसम्म विद्युत् उत्पादन शुरु हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्यले बताए । उनका अनुसार भूकम्प, बाढीपहिरो, कोरोना कहर जस्ता विभिन्न समस्या झेल्दै आएको आयोजना निरन्तरको प्रयासबाट अब विद्युत् उत्पादन शुरु गर्न सक्ने अवस्थामा पुगेको हो ।

चालू आर्थिक वर्षभित्रमा सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत् उत्पादन गरिने लक्ष्य रहेको छ । आयोजनामा ७६–७६ मेगावाटका छ वटा युनिट रहेका छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट क्रमशː विद्युत् उत्पादन हुनेछ ।
राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी २०७३ सालमा पूरा हुनुपर्ने थियो । तर भूकम्प, नाकाबन्दी, डिजाइन परिवर्तन र इलेक्ट्रो–मेकानिकल लटको ठेकेदारको लापर्वाहीले ढिला भएको हो । निर्धारित समयभन्दा निर्माण कार्य पूरा नभएकाले यसको लागत पनि वृद्धि भएको छ । सुरुको अनुमानित लागत करिब ४४ करोड १० लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजबाहेक) थियो । अहिले यसको लागत करिब ७५ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
माथिल्लो तामाकोसीमा ६ वटा युनिट छन् । प्रत्येकको क्षमता ७६ मेगावाट छ । यो आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुनेछ । यसबाट हुने वार्षिक आम्दानीले हरेक वर्ष सय मेगावाटको आयोजना निर्माण गर्न सकिन्छ । विद्युत् प्राधिकरण र अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडबीच भएको विद्युत् खरिद सम्झौता (पीपीए) को संशोधित प्रावधानअनुसार आयोजनाको पहिलो युनिटबाट यही वैशाख १५ गते, दोस्रो युनिट वैशाख ३१ गते, तेस्रो युनिटबाट जेठ १५ गते, चौथो युनिटबाट जेठ ३१ गते, पाँचौं युनिटबाट असार १५ गते र अन्तिम तथा छैटौं युनिटबाट असार ३१ गते बिजुली उत्पादन गर्ने उल्लेख छ ।


