घट्यो एभरेष्ट बैंकको नाफा |
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी र खुद नाफा घटेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ५० करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.९३ प्रतिशत कम हो ।
खुद ब्याज आम्दानीसँगै अन्य आम्दानी घटेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.२५ प्रतिशत घटेको छ । त्यसैगरी, खुद फि तथा कमिशन आम्दानी २८.०६ प्रतिशत र सञ्चालन मुनाफा ३५.९३ प्रतिशत घटेको छ।
चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ६ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि कमी आएको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १४ रुपैयाँ ३६ पैसा घटेर २२ रुपैयाँ ५० पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३६.०२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ७२ पैसा रहेको छ ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी ५ प्रतिशत बढेको छ भने जगेडा कोष १९.१९ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ८.४४ प्रतिशत र कर्जा ७.२८ प्रतिशत बढेको छ ।
गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा ०.०८ प्रतिशतविन्दु घटेर ०.१२ प्रतिशतमा सीमित भएको छ ।


