उद्योग वाणिज्य महासंघद्वारा स्टार्टअप एण्ड इनोभेसन समितिको कार्यक्रम घोषणा | ५० नवप्रवर्तनलाई ५० उद्यमीको साथ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअपहरूको प्रबद्र्धन मार्फत मुलुकभित्र उद्यमशीलता विकास गरि अधिकतम रोजगारी सिर्जना गर्न स्टार्टअप एण्ड इनोभेसन समिति गठन गरेको छ । पहिलो पटक स्टार्टअप एण्ड इनोभेसन समिति गठन गरेको महासंघले वार्षिक अधिकतम ४ लाखलाई रोजगारी सिर्जना गर्ने जनाएको छ ।
उक्त समितिको नेतृत्वमा महासंघको कार्यकारिणी समितिका सदस्य रञ्जितराज आचार्यको नियुक्त भएका छन् भने सो समितिमा स्टार्टअप एण्ड इनोभेसन क्षेत्रमा स्थापित यूवा उद्यमीहरुको सहभागिता रहेको महासंघले जनाएको छ ।
समितिले नव उद्यमीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा जोडने, महासंघले आर्थिक रुपान्तरण मार्गचित्र (भिजन पेपर) मार्फत अगाडि सारेको प्रति वर्ष ४ लाख रोजगारी सृजना गर्ने लक्ष्यलाई पुरा गर्ने कार्यमा सहयोग गर्ने, स्टार्टअप/उद्योग व्यवसायको वारेमा अध्ययन गर्ने, मुलुकभित्र नवीनतम सोचसहितको उद्यमशिलता प्रबद्र्धन गर्ने लगायत उद्योग मन्त्रालय अन्तर्गत लगानी प्रबद्र्धन महाशाखासँगको सहकार्यमा स्टार्टअप नीति निर्माणका लागि पहल गर्ने रणनीति लिएको छ ।
त्यस्तै समितिले नयाँ सोचसहित केही गर्न अघि सरेका नव उद्यमीहरुको पहिचान गरी उनीहरूलाई अगाडि बढन आवश्यक पूँजी लगानी स्वरूप जुटाई सहयोग गर्ने लगायतका महत्वपूर्ण कार्यहरू समेत गर्ने योजना बनाएको महासंघले जानकारी दिएको छ ।
५० नवप्रवर्तनलाई ५० उद्यमीको साथ
नेपाल उद्योग वाणिज्य महासंघले ५० नवप्रवर्तन (स्टार्टअप) को व्यवसाय अघि बढाउन ५० स्थापित उद्यमी जुटाउने भएको छ । महासंघले गठन गरेको स्टार्टअप एन्ड इनोभेसन समितिले नवीन सोचमा आधारित रहेर उद्यम गरिरहेकाहरूको नवप्रवर्तनको व्यावसायिक सफलताका लागि लगानीकर्ता जुटाउने महासंघ सचिवालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
समितिअन्तर्गत रहेको इन्भेस्टर फोरममार्फत ५० स्टार्टअप र लगानीकर्तासँग साक्षात्कार गराई लगानी तथा व्यावसायिक साझेदारीमा सहयोग गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । समितिले महासंघको वेबसाइटबाट चैतको तेस्रो साताबाट देशभरबाट आवेदन खुला गर्ने पत्रकार सम्मेलनमा बताइयो । यो आह्वानमा सहभागी हुन स्टार्टअप कम्तीमा एक वर्ष वा सोभन्दा बढी अवधिदेखि सञ्चालनमा आएको हुनुपर्ने समितिले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ ।
‘आवेदन कृषि, उत्पादनमूलक, सेवा तथा सूचना प्रविधि जस्ता सबै क्षेत्रका लागि खुला गरिनेछ,’ कार्यपत्रमा भनिएको छ, ‘सहभागी हुन लेखापरीक्षण गरिएको वासलात, उत्पादन तथा सेवाको सम्भावना हुनुपर्नेछ ।’ छानिएका स्टार्टअपलाई समितिले २० जना अनुभवी उद्यमीबाट तीन महिना अवधिको उद्यमशीलता विकाससम्बन्धी तालिम प्रदान गर्नेछ । यो प्रक्रिया हरेक तीन महिनामा पुनः दोहोर्याउँदै लैजाने समितिले जानकारी दिएको छ । समितिले सरकारसँग मिलेर स्टार्टअपहरूका लागि उपयुक्त हुने नीति ल्याउनमा पहल गर्ने र कानुन निर्माणमा सहकार्यसमेत गर्ने बताएको छ । छानिएका ४/५ स्टार्टअपलाई महासंघले आफ्नो सचिवालयमा स्थान दिने समितिले उल्लेख गरेको छ ।


