आज मेलम्ची सुरुङ परीक्षण गरिँदै, सम्भावित दुर्घटनामा उद्धार गर्न हेलिकप्टर तयारी अवस्थामा |
काठमाडौं । मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउन सोमबारदेखि सुरुङ परीक्षण गरिँदै छ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिँदै छ । तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मेलम्चीको पानी काठमाडौँ आउनेछ ।
आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाले आज बिहान ११ बजे सुरूङमा पानी हाल्ने कामको उदघाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । सो अवसरमा मन्त्री थापाले समग्र आयोजनाको प्रगतिका बारेमा निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
मेलम्चीमा सुरुङ प्रवेशद्वार (गेट)को जडान र फिनिसिङ सम्पन्न भएपछि पानी पथान्तरण गर्नुअघि प्राविधिक टोलीमार्फत अनुगमन गरिएको थियो । आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुझाव दिएपछि पथान्तरणका लागि करिब दुुई महिना ढिला भएको थियो ।
मेलम्चीको पानी काठमाडौँ आउन कम्तीमा पनि अझै दुुई महिना लाग्ने देखिन्छ । मेलम्ची खानेपानी समितिका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ । पहिलो चरणमा सुरुङमा पानी पठाएर होल्ड (पथान्तरण) गरिनेछ । उक्त पानी सुरुङबाट बाहिर फालेर पुनː पथान्तरण गरिनेछ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी ल्याइनेछ ।
हेलिकप्टर तयारी अवस्थामा
विगतको जस्तो दुर्घटना नहोस् भनेर आयोजनाले यसपालि विशेष सतर्कता अपनाइएको छ । परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाडौंस्थित विभिन्न अस्पतालहरुसँग समन्वय गरिएको छ ।
परीक्षणका लागि पहिले जसरी नै प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटर पानीका दरले सुरुङमा पानी प्रवाह गरिनेछ । सुरुङमा पानी भरिएपछि करिब १० दिन यतिकै राखिनेछ । त्यसपछि प्रतिसेकेन्ड २६० लिटरकै दरमा १५ देखि २० दिन लगाएर बाहिर पानी फालेर सुरुङ खाली गरिनेछ । पानी सबै फालिसकेपछि करिव ७ दिन लगाएर सुरुङको गुणस्तर पुनː परीक्षण गरिनेछ ।
केही समस्या देखिए त्यसलाई समाधान गरिने छ । यो सबै काम सकिएपछि फेरि पुरानै प्रक्रियाबाट नियमित रुपमा सुरुङमा पानी भर्न थालिने छ ।
यो पानी सुन्दरीजलमा तयार रहेका २ वटा प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पठाइने छ । सबै अवस्था सामान्य हुँदा मेलम्चीको पानी मुख्य वितरण लाइनमा पठाउने काम थाल्न दुईदेखि तीन महिना लाग्ने अनुमान छ ।
ठेकदार र आयोजनाले प्रधानमन्त्री कार्यालयमा बुझाएको कार्यतालिका अनुसार काम भएमा २०७८ वैशाख २ गते (१५ अप्रिल २०२१) सम्म मेलम्ची आयोजनाको काम सकिनेछ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने छ ।


