म्यानपावरलाई शाखा कार्यालय खोल्न दिने तयारीमा सरकार |
काठमाडौं । सरकारले म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय विस्तारका लागि पुनː अनुमति दिने तयारी गरेको छ । यसअघि पनि यस्तो अनुमति दिने गरिएकोमा जिल्लाहरुमा ठगी बढेको र नियमनमा समस्या भएको भन्दै शाखा खोल्न रोकिएको थियो ।
अहिले २७ वटा म्यानपावरले शाखा कार्यालय खोल्न अनुमति पाएका छन् । अरुले पनि यस्तो अनुमति मागिरहेका छन् । तर, वैदेशिक रोजगार विभागले जारी गरेको छैन ।
अवैध एजेन्ट अर्थात् दलालको अवाञ्छित सक्रियताका कारण वैदेशिक रोजगारीलाई ‘ठगीको धन्दा’ बनेको भन्दै विभागले म्यानपावरहरुलाई शाखा विस्तारका लागि अनुमति दिन छलफल अघि बढाएको बताएको छ ।
म्यानपावर कम्पनीलाई कतिवटासम्म शाखा खोल्न दिने भनेर छलफल भइरहेको विभागले बताएको छ । सरकारले सबै म्यानपावरलाई प्रत्येक प्रदेशमा एक(एक वटासम्म शाखा कार्यालय खोल्न दिन सकिने बताएपनि व्यवसायी भने थप लचकता आवश्यक रहेको बताइरहेका छन् ।
शाखा कार्यालय खोल्दा केके शाखा खोल्न पुरा गर्नुपर्ने, शाखाको सञ्चालन कसरी गर्ने, के(के नियम पालनना गर्ने ? लगायतका विषयहरु पनि तय गर्न बाँकी छ ।
नियमअनुसार ५ लाख रुपैयाँ थप धरौटी राखेपछि विभागले म्यानपावरलाई शाखा विस्तारको अनुमति दिनसक्छ ।
वैधानिक रुपमा लाइसेन्स लिएका एजेन्टको संख्या साढे सयभन्दा बढी छन् ।




