निर्वाचन आयुक्त भण्डारीलाई नेकपा विवाद सल्टाउने जिम्मेवारी |
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद मिलाउने जिम्मेवारी नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पाएका छन् ।
२१ माघमा पद तथा गोपनियताको सपथ लिएका आयुक्त भण्डारीले राजनीतिक दल तथ दल विभाजनसम्बन्धी विवाद हेर्ने जिम्मेवारी पाएका हुन् । भण्डारी, नेकपा ओली समूहका महासचिव विष्णु पौडेलसँग निकट मानिन्छन् ।
गत शुक्रबार यो जिम्मेवारी पाएलगत्तै वरिष्ठ अधिवक्ता समेत रहेका भण्डारी नेकपाको विवादसम्बन्धी कागजपत्रको अध्ययनमा लागेका छन् । स्रोतका अनुसार पछिल्लोपटक नेकपाको माधव–प्रचण्ड समूहले पठाएको २० पृष्ठको पत्र उनले पढिसकेका छन् । उनलाई आयोगको कानून शाखाले सहयोग गरेको छ ।
विवादसम्बन्धी निर्णय भने आयुक्तहरूले सामूहिकरुपमै लिने स्रोतको भनाइ छ । मत बाझिने अवस्था आउँदा बहुमतले निर्णय गर्ने र बराबरी मत हुँदा प्रमुख आयुक्तले भोट दिने व्यवस्था छ ।
आयुक्त भण्डारी लगायत संवैधानिक निकायमा नियुक्त भएका ३२ जनाविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दा विचाराधीन छ ।


