प्रदेश नं. २ मा आईएमई भरोसा कोषको रकम वितरण |
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आईएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नं. २ का लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरिएको छ ।
आईएमई ग्रुपद्वारा मंगलबार प्रदेश नं. २ को राजधानी जनकपुरमा आयोजित एक विशेष कार्यक्रमकाबीच प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले उक्त कोषबाट रकम प्राप्त गर्ने १५ जना लाभग्राहीहरुलाई चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल एवं ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।
चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आईएमईले उत्तरदायित्व स्वरुप प्रदान गरेको भरोसा कोषको लागि प्रदेश सरकारको तर्फबाट धन्यबाट व्यक्त गरे । बैदेशिक रोजगारका सिलसिलामा विदेशमा गई काम गर्दैगर्दा कोरोनाका कारण मृत्यु भएकाहरुलाई सानै भएपनि सहयोग रकम वितरण गरेर आईएमईले आफ्नो दायित्व पूरा गरेको बताउँदै प्रदेश २ बाट बैदेशिक रोजगारीमा जाने धेरै भएको बताए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महा संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमईले भरोसा कोषमार्फत प्रभावित परिवारलाई सहयोग पु¥याउँदै आएको बताउँदै संस्थाको यस्तो सामाजिक कार्यमा मुख्यमन्त्री एवम् प्रदेश सरकारको साथ पाउनु महत्वपूर्ण रहेको बताए । कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भरोसा कोषको अवधारणाको विषयमा प्रकाश पारे ।
कोषबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिँदै आएको छ । प्रदेश नम्बर २ अन्तर्गतको जनकपुर क्षेत्रबाट कूल १५ जनालाई प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउत र आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सहयोग राशी बराबरको चेकहरु संयुक्त रुपमा हस्तान्तरण गरे ।
कोरोना भाइरसका कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठूलो पीडा थपिएको महसुस गरि आईएमईले मृतकको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ भरोसा कोषको स्थापना गरेको हो । कोषले विभिन्न प्रदेशमा सहयोग रकम हस्तान्तरण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ भने प्रदेश नम्बर दुईको राजधानी जनकपुरमा छिट्टै नै सहयोग रकम हस्तान्तरण गर्ने योजना बनाएको छ ।
कोषबाट सहयोग राशी प्राप्त गर्नका लागि सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड–१९का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने इच्छुक आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आईएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेगरि व्यवस्था मिलाएको थियो ।


