ल्हासामा हिमालय एअरलाइन्सको परीक्षण उडान |
काठमाडौं । नेपाल र चीनको संयुक्त साझेदारीमा संचालित हिमालय एअरलाइन्स जनवरी १९मा आफ्नो पहिलो उच्च उचाई गन्तव्य–ल्हासाको परीक्षण उडानका लागि प्रस्थान गरेको छ ।
ल्हासा जनवादी गणतन्त्र चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी हो, जसले संसारभरबाट पर्यटक आकर्षित गर्दै आएको छ । आजको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकावद्ध उडानहरू सुरू गर्ने कम्पनीको व्यावसायिक योजनाको अनुरूप नै भएको कम्पनीले जनाएको छ ।
परीक्षण उडान H9 961 त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बिहान ७ः१७ बजे (स्थानीय समय)मा ल्हासातर्फ प्रस्थान गरी ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा विहान १०ः४६ बजे (स्थानीय समय)मा अवतरण गरेको छ । ल्हासाबाट फिर्ती उडान H9 962 आजै अपरान्ह १५ः०० बजे भएको छ ।
एअरलाइन्सका सञ्चालन उपाध्यक्ष क्याप्टेन हाओ दीले, वरिष्ठ क्याप्टेनहरु सहित परीक्षण उडानका चालक दलको नेतृत्व गरेका छन् र चालक दलले ल्हासा स्थित गोंगर अन्तर्राष्ट्रिय विमान स्थलमा वैधता उडानका लागि तीन फरक फरक एप्रोचेज अपनाउने छन् ।
परीक्षण उडानका लागि एअरलाइन्सले सन् २०२०को मार्च महिना मै विशेषतः उच्च उचाईका लागि उडान भर्न H9 AJK नाममा दर्ता भएको नवीनतम न्यारोबडी हवाइ जहाज A319-115 प्रयोगमा ल्याएको छ । १२० इकोनोमि र ८ विजिनेस क्लास सिटको व्यवस्था भएको एअरक्राफ्ट उच्च उचाईको उडान भर्नको लागि परिमार्जित छ र अधिकतम १४,५०० फिटसम्मको एअरोड्रम उचाई भएको ट्रान्स हिमालयन मार्गहरू सञ्चालन गर्ने क्षमता रहेको छ ।


