इजरायलमा ५ सय श्रमिक पठाउन प्रोटोकलमा हस्ताक्षर |
काठमाडौं । पाँच सय जना नेपाली श्रमिक पठाउने गरी नेपालले इजरायलसँग गर्ने प्रोटोकलमा हस्तक्षर भएको छ । वैदेशिक रोजगार विभागमा महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले प्रोटोकलमा हस्ताक्षर गरे ।
गत असोज १४ गते श्रीमिक आपूर्तिबारे नेपाल र इजरायलीच श्रम सम्झौता भएको थियो । पाँच सय नेपाली केयर गिभर लैजाने गरी भएको यो सम्झौता अनुसार श्रमिक पठाउन दुई देशले छलफल गरेर प्रोटोकल तयार गरेका हुन् ।
अब इजरालयमा केयर गिभरका रुपमा श्रमिक लैजान एक आन्तरिक कार्यविधि जारी गरेर विज्ञापन प्रकाशित हुने विभागका महानिर्देशक कुमार दाहालले बताए ।
इजरायलमा यो समझौताअनुसार ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष केयर गिभर इजरायल जानेछन् । यसरी जाने केयर गिभरले त्यहाँका स्याहार केन्द्रहरुमा काम गर्नेछन् । न्युनतम तलब १५ सय डलर हुनेछ । त्यसमध्ये ३१० डलर खाना र आवास सुविधाबापत रोजगारदाताले कटौती गर्नेछ ।
एसएलसी उत्तीर्ण गरेर १५ महिने स्वास्थ्य सेवासम्बन्धी विषय पढेका वा १२ कक्षा पास गरी तीनमहिने केयर गिभर तालिम लिएका, अंग्रेजी र हिब्रु भाषा बोल्न सक्नेलाई यो रोजगारीमा जान अवसर दिइनेछ । कामदार छनोट नेपाल सरकार नै गर्नेछ ।
सरकारले यसअघि सन् २०१५ मा इजरायलसँग गरेको केयर गिभर पठाउने श्रम समझदारीबाट पर्याप्त श्रमिकले लाभ उठाउन पाएका थिएनन् । थोरै मागमा धेरै आवेदन परेपछि छनोटमा चिठ्ठा प्रणाली लागू गरिएको थियो । जसले गर्दा भाषा सिकेर पनि धेरैले काम गर्न जान पाएनन् । म्यानपावर कम्पनीहरुले नै इजरायलमा केयर गिभर पठाउने गरेका थिए ।
अब इजरायल जाने श्रमिकले भिसा शुल्क, मेडिकल शुल्क, टिकट, बिमा लगायतका खर्च आफैंले ब्यहोर्नुपर्नेछ । श्रम विज्ञहरुले भने यो श्रम सम्झौतामाथि प्रश्न उठाउँदै आएका छन् । सरकारले म्यानपावर कम्पनीमार्फत श्रमिक पठाउँदा सबै शुल्क सम्बन्धित रोजगारदाता मुलुक वा त्यहाँका कम्पनीले तिर्नुपर्ने नीति लिएको छ । म्यानपावर कम्पनीले तोकिएको सेवा शुल्क मात्रै लिन पाउने नीति छ ।
इजरायलका हकमा भने सरकारी संयन्त्रबाटै श्रमिक आपूर्ति गर्ने गरी सम्झौता गरेर पुरानो नीति लत्याउन लागिएको विज्ञहरुको भनाइ छ ।
श्रम, रोजगार तथा समाजिक विकास मन्त्रालयले २०७२ जेठमा भएको ‘फ्रि भिसा, फ्रि टिकट’को नीतिलाई वैदेशिक रोजगार नीतिको रुपमा व्याख्या गर्ने गरेको छ । यो नीति नमान्ने म्यानपावर कम्पनीलाई सरकारले कारवाही गर्दै आएको छ ।
कामदार विदेश पठाउन ‘श्रमिकको शून्य लागत’ को नीति लिएकै कारण मलेसियासहित खाडीका साउदी, कतार, दुबई, ओमान, कुवेतलगायतका देश जाने श्रमिकलाई म्यानपावर कम्पनीले १० हजार रुपैयाँ भन्दा बढी सेवा शुल्क लिन नपाउने व्यवस्था छ ।


