चन्द्रागिरी हिल्सको आईपीओमा १५ गुणा बढी आवेदन |
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा १५ गुणा बढी आबेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोवल आईएमई क्यापिटलका अनुसार सोमबार साढे ४ बजे सम्ममा २ करोड १० लाख ५२ हजार ३२० कित्ता शेयर माग भएको हो ।
कम्पनीको शेयरमा १० लाख ६७ हजार ८९३ वटा आबेदनबाट २ करोड १० लाख ५२ हजार ३२० कित्ता अर्थात २ अर्ब १० करोड ५२ लाख ३२ हजार रुपैयाँ बराबरको आबेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको १३ लाख ९६ हजार कित्ताको १५.०८ गुणा बढी हो ।
कम्पनीले पुष २४ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर आइपीओ बिक्रि खुला गरेको हो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो।
कम्पनीले प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर निष्काशन ल्याएको हो । त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ । त्यसपछि बाँकी रहने कुल १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ माग भन्दा बढी आबेदन परिसकेकाले आज पुस २८ गतेदेखि बन्द हुनेछ । कम्पनीको आइपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
चन्द्रागिरी हिल्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
यस अघि स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरिसकेको यस कम्पनीको चुक्ता पूँजी यस आईपीओ बाँडफाँटपश्चात १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ ।


