ब्रोकरले सामाजिक उत्तरदायित्वमा नाफाको एक प्रतिशत रकम खर्च गर्नुपर्ने |
काठमाडौं । ब्रोकर लगायत शेयर बजारमा आवद्ध पक्षले सामाजिक उत्तरदायित्वमा खुद मुनाफाको एक प्रतिशत खर्च गर्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले शेयर बजारलाई प्रविधिमैत्री हुनेगरी लगानीकर्ता शिक्षा तथा सचेतनामा उक्त रकम खर्च गर्न निर्देशन दिएको हो ।
बोर्डको निर्देशन अनुसार धितोपत्र बजार सम्बद्ध ब्रोकर कम्पनी सहित केन्द्रिय निक्षेप कम्पनी, क्रेडिट रेटिङ्ग संस्थाले खुद नाफाको कम्तिमा एक प्रतिशत रकम छुट्टाउनु पर्नेछ ।
उक्त रकम संस्थागत सामाजिक सुरक्षा अन्तरगत लगानीकर्ता शिक्षा तथा सचेता अभिबृद्धि कार्यमा खर्च गर्नुपर्ने र खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुसार वितरण हुनुपर्ने बोर्डले जनाएको छ ।
यसले गर्दा लगानीकर्ताले सूसुचित निर्णय लिन सहयोग पुग्ने र लगानीकर्ताको हितका साथै बजार विकासमा समेत सहयोग पुग्ने बोर्डको अपेक्षा छ ।
बोर्डले नयाँ लगानीकर्ताको प्रबेश बढ्दै गइरेको जनाउदै प्रविधिमैत्री लगानीकर्ता शिक्षामा जोड दिनु पर्ने समेत जनाएको छ ।


