प्रमुख राजनीतिक दलहरूलाई संयमतापूर्वक निर्णय लिन निजी क्षेत्रको आग्रह |
काठमाडौं । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका व्यवसामयीक संगठनहरु पनि बोल्न थालेका छन्। निजी क्षेत्रका तीनवटै संगठनले मुलुकका प्रमुख राजनीतिक दलहरू समक्ष संयमतापूर्वक निर्णय लिन आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघ संयुक्त रुपमा राजनीतिक दलहरू समक्ष सुझबुझ र संयमतापूर्वक निर्णय लिई मुलुकलाई स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुन आग्रह गरेको हो ।
निजी क्षेत्र जहिले पनि राजनीतिक स्थिरताको पक्षमा रहेको र निजी क्षेत्रले विगतमा पनि राजनीतिक स्थिरताका लागि वारम्वार सुझाव दिँदै आएको उनीहरुको तर्क छ ।
राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँ नयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सृजना हुने, नयाँ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गतिलिन सक्ने यथार्थतालाई कसैले पनि भुल्न नहुने संघहरुको भनाइ छ ।
विश्वव्यापी कोभिड १९ का कारण मुलुक आक्रान्त भई अर्थतन्त्रमा गम्भीर असर परिरहेका बेला पछिल्लो समय उब्जिएको राजनीतिक समस्याबाट उत्पन्न हुन सक्ने अस्थिरताको परिणाम थप गम्भीर हुनेतर्फ निजी क्षेत्र चिन्तित देखिएको छ ।
राजनीतिक स्थिरताको आर्थिक विकाससँग प्रत्यक्ष सम्बन्ध रहने विगतको अनुभव हेर्दा अहिलेको कठिन परिस्थितिमा सिर्जित घटनाक्रमले अन्यौलता सृजना गर्नेमा निजी क्षेत्र शसंकित एवं चिन्तित भएको छ र भर्खरै चलायमान हुन थालेको मुलुकको अर्थतन्त्र र सर्वसाधारणको जिवीकोपार्जनमा समेत गम्भीर असर पर्ने उनीहरूको भनाइ छ ।



