चुनावसँगै प्यानल सकियो, अब महासंघ एक ढिक्का हुन्छ ː वरिष्ठ उपाध्यक्ष ढकाल | के भन्छन् महासङ्घको निर्वाचनमा विजयीहरु ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अब जित–हार भुलेर महासंघलाई बलियो बनाउन अघि बढ्ने बताएका छन् ।
विहान चुनाव जितेपछि सञ्चारमाध्यमलाई संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले अब चुनावसँगै प्यानल पनि सकिएको बताए ।
उनले अब गोल्छाकै नेतृत्वमा महासंघलाई एक ढिक्का बनाएर अघि बढाउने बताए । ‘चुनाव हारे पनि आदरणीय दाजु किशोर प्रधानलाई पनि साथै लिएर अघि बढ्छौं,’ उनले भने, ‘मलाई विश्वास गर्ने सबैमा धन्यवाद प्रकट गर्छु ।’
उनले भने, “मैले पहिला पनि भनेको थिएँ, हामीहरुको पक्षविपक्ष भनेको १३ गते साँझसम्म मात्रै हो । आजदेखि सम्पूर्ण निजी क्षेत्रको आवाज उठाउने हो । निर्वाचित हामी सबैले व्यवयासीका सम्बन्धमा एउटै आवाज उठाउनेछौँ भन्ने जानकारी गराउन चाहन्छु । निजी क्षेत्रले नियमनकारी निकायसंग गर्ने एड्भोकेसी हामीले गर्नेछौँ । मेरो जीत भनेको सम्पूर्ण व्यवसायीक साथीहरुको प्रतिनिधिको रुपमा भएको छ ।”
यस्तै एसोसियट तर्फको उपाध्यक्षमा विजयी रामचन्द्र सङ्घाईले उद्योगहरुमा आईपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफ्नो पहल हुने प्रतिक्रिया दिए । उनले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरि निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रीत हुने बताए ।
जिल्ला नगरतर्फको उपाध्यक्षमा विजयी दिनेश श्रेष्ठले जिल्ला नगर वाणिज्य सङ्घहरुलाई आफैमा सबल र सक्षम बनाउनुको साथै व्यवसायीक ज्ञान बृद्धि लगायततर्फ आफ्नो पहल हुने बताए । त्यसैगरी साना व्यवसायी र मझौला व्यवसायीलाई सक्षम र सवल बनाउँदै पूँजीमा पहुँच स्थापित गर्ने तर्फ आफ्नो प्रयास हुने उनले उल्लेख गरे ।
वस्तुगत तर्फको उपाध्यक्षमा बिजयी अन्जन श्रेष्ठले वस्तुगत सङ्घको विश्वासमा आफुले निर्वाचन जितेकाले उनीहरुका हितका लागि काम गर्ने प्रतिबद्धता जनाए । उनले लगानीको अवसर र वातावरण संगै सुरक्षाको वातावरण मिलाउने कामका लागि विशेष पहल गर्ने बताए । उनले भने, “कोरोनाको कहर सकिएको छैन । तर, विस्तारै जनजीवन सामान्य र व्यवसाय पनि चल्दै गएको छ । कोरानो बढ्दै गएमा आर्थिक वृद्धि ऋणात्मक हुनेछ । यसमा निजी क्षेत्रको सबैभन्दा ठूलो भूमिका छ । सरकारले केही गर्दैन भन्ने बुझिसकिएको छ । सरकारसँग सिमित साधन र स्रोत छ । सरकारसँग हामीले लगानी गर्ने अवसर र वातावरण खोज्ने हो । त्यसका लागि नीतिगत स्पष्टता र निरन्तरता चाहिन्छ । लगानीका लागि वातावरण हुनुपर्यो । लगानी सुरक्षा हुनुपर्यो । सम्पूर्ण वस्तुगत सङ्घहरु र सम्पुर्ण उद्योमी व्यवसायीको समस्या यही हो । यही समस्यालाई हामीले समाधान गर्न तर्फ अगाडि जाने हो ।”
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतː अध्यक्ष हुने व्यवस्था गरेकोले उपाध्यक्ष र सोभन्दा मुनिका विभिन्न पदमा शनिबार मतदान भएको थियो । महासंघमा निवर्तमान अध्यक्ष भवानी राणाको समयसम्म आइपुग्दा १८ जना अध्यक्षहरुले महासंघको नेतृत्व गरिसकेका छन् ।
१९ औं नेतृत्वको रुपमा अबको एक कार्यकाल शेखर गोल्छाले गर्नेछन् भने अहिले वरिष्ठ उपाध्यक्ष जितेका ढकालले महासंघको २० औं अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।
Visited 1 times, 1 visit(s) today


