मनीषा कोइरालाले सुरू गरिन् क्यान्सर एजुकेशन फन्ड |
काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले 'मनीषा कोइराला क्यान्सर एजुकेशन फन्ड' सुरू गरेकी छन् ।
फन्डको सहकार्यका लागि कोइराला र काठमाडौंको ग्लोबल कलेज इन्टरनेशनलबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बिहीबार आयोजित एक कार्यक्रममा कलेजका प्रिन्सिपल डा. करणसिंह ठगुन्ना र अभिनेत्री कोइरालाले समझदारी पत्र साटासाट गरे । उक्त अवसरमा कलेज परिसरमै खोलिएको फन्डको समेत उद्घाटन गरिएको थियो ।
फन्डको सर्वाधिकार कोइरालासँग रहने छ ।
फन्डमार्फत् क्यान्सरपीडित विद्यार्थीका लागि विभिन्न शीर्षकमा छात्रवृत्ति दिइनेछ । त्यस्तो छात्रवृत्ति 'क्यास' तथा 'नन-क्यास' हुने बताइएको छ । छात्रवृत्ति विद्यालय र क्याम्पस तहमा पढ्ने विद्यार्थीहरूलाई दिइनेछ। अहिले उक्त कलेजमा मात्र त्यस्तो छात्रवृत्ति दिइने र पछि जो जहाँ पढ्न चाहन्छ त्यहीँ पढाउने प्रिन्सिपल ठगुन्नाले बताए ।
आजै फन्डका लागि पाँच लाख रुपैयाँको चेक मनीषालाई हस्तान्तरण गरिएको छ ।
मनीषा आफैं क्यान्सरबाट निको भएकी थिइन् । क्यान्सर जितेपछि उनले हिल्ड भन्ने पुस्तक लखेकी छन् ।
परिवारमा कसैलाई क्यान्सर भए सबै पैसा उपचारमा सकिने भएकाले बालबालिकाले पढ्न नपाउने हुँदा यस्तो फन्डको थालनी गरेको मनीषाको भनाइ छ ।
‘कसैलाई क्यान्सर भए पुरा परिवारलाई असाध्यै चिन्ता हुन्छ । एकातिर एउटा रोग कसरी निको पार्ने भन्ने हुन्छ अर्काति उपचार खर्च जुटाउने भन्ने हुन्छ,’ उनले भनिन्,‘जग्गा जमिन बेचेर उपचार गर्छन् । त्यस्तो बेलामा पीडित परिवारका आमाबुवाले बच्चालाई पढाउन सकेका हुँदैनन् । त्यस्तो बेला हामीले क्षमताअनुसार सहयोग गर्यौं भने समाजमा राम्रो प्रभाव जान्छ ।’
उनले यो फन्डले क्यान्सरपछि पनि जीवन छ भन्ने आशा देखाउने बताइन् ।
‘क्यान्सर भएर, उपचार गरेर निको भएपछि पनि पढेर राम्रो गर्नसक्छु भन्ने आश यो फन्डले दिन्छ,’ कोइरालाले भनिन् ।

