सानिमा जनरल इन्स्योरेन्सको आइपीओमा झण्डै ६ गुणा बढी आवेदन |
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि सर्वसाधारणमा बिक्रीमा ल्याएको आईपीओमा तीन दिनमा झण्डै ६ गुणा बढी आवेदन परेको छ ।
बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले दिएको जानकारी अनुसार शुक्रबार साँझसम्ममा कम्पनीको आइपीओमा ७ लाख ४४ हजार ४९१ वटा आवेदनबाट १ अर्ब ६२ करोड ३६ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ३६ हजार ५५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो मागभन्दा ५.९४ गुणा धेरै हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ ।

