यती एयरलाइन्सले सिमरा उडान गर्ने |
काठमाडौं । यती एयरलाइन्सले काठमाडौं–सिमरा नियमित व्यवसायिक उडान गर्ने भएको छ । पछिल्लो समय व्यस्त मानिएको यो रुटमा यतीले उडान गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिइसकेको छ ।
यतीले प्राधिकरणबाट दैनिक ३ उडान गर्नका लागि अनुमति पाएको छ। अहिलेको समयमा भने उसले न्यूनतम उडानबाट सुरु गर्ने तयारी गरेको छ ।
यतीले अक्टुबर ७ देखि नियमित उडान सुरु गर्ने तयारी गरिरहेको छ । एयरलाइन्सले सुरुमा दैनिक १ उडान गर्ने बताएको छ ।
७२ सिट क्षमताका पाँच एटिआर ७२ जहाज र ५ जेटस्ट्रिम भएको यतीले यात्रुको माग धेरै भएको भन्दै उडानको योजना बनाएको हो ।
काठमाडौं–सिमरा रुटमा यसअघि बुद्ध एयरले एक्लै उडान गर्दै आएको थियो। उडान तालिका भएपनि नेपाल एयरलाइन्सले निमयित उडान गरिरहेको थिएन। लकडाउन अगाडि सिमरा उडानका लागि श्री एयरले पनि आवेदन दिएको थियो । श्रीले पनि उडान गर्ने तयारी गरिरहेको छ ।


