११ दिनमै खुले १२ सय २५ नयाँ कम्पनी |
काठमाडौं । असोजको शुरुबाटै नयाँ कम्पनी दर्ता ह्वात्तै बढेको छ । गएको ११ दिनमा नयाँ कम्पनी दर्ता करिब ४० प्रतिशत बढेको कम्पनी रजिस्ट्रार कार्यालयले जनाएको छ ।
कार्यालयमा गत असोज एक गतेदेखि ११ गते सम्म १२ सय २५ नयाँ कम्पनी दर्ता भएका छन् । यो भनेको गएको दुई महिनाको तुलनामा ३८.२३ प्रतिशत बढी हो । गत साउन र भदौ महिना भरिमा जम्मा चार हजार एक सय २७ नयाँ कम्पनी दर्ता थिए । जसको दैनिक दर्ता औसत ६८.७८ रहेको थियो । तर गएको ११ दिनमा नयाँ कम्पनी दर्ताको दैनिक औसत १११.३६ रहेको छ । यो भनेको गएको दुई महिनाको औसत दैनिक दर्ताको तुलनामा ३८.२३ प्रतिशत बढी हो ।
गत महिना मात्रै कम्पनी रजिस्ट्रार कार्यालयमा अभाव रहेको १० कर्मचारी थपिएका छन् । गएको महिना देखि कार्यालयले सबै काम अभौतिक गर्ने निर्णय गरेको छ । कार्यालयले सबै काम अनलाइन बाटै गर्ने व्यवस्था गरेको छ ।
फाइल राख्ने विषयमा दिइएको सहुलियत र अनलाइन बाटै कम्पनी दर्ता देखि अभिलेखीकरण गर्ने सम्मको सहुलियत दिएपछि कार्यालयको काम तीव्र रुपमा अघि बढ्न थालेको छ । यस अघि देखिने गरेको मानिसहरूको भिड पनि घटेको छ । तर दैनिक हुने प्रशासनिक कामको चाप भने बढेको छ । मानिसहरू नदेखिने तर प्रविधिले गर्दा काम भने बढी हुने गरेको कार्यालयको तथ्यङ्कले देखाउछ ।
असोज लागे यतानै दैनिक १११ वटा नयाँ कम्पनी दर्ता भई रहेका छन् । नयाँ कम्पनी दर्दा हुने बाहेकका काममा समेत उल्लेख्य प्रगति देखिएको छ ।
कार्यालयले डिजिटल फरर्म्याटमा कामलाई परिवर्तन गरेपछि राजस्व सङ्कलन समेत बढेको छ। गएको ११ दिनमै कार्यालयले ६७ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । उसले असोज लागे यता गएको ११ दिनमा तीन करोड १३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।



