मन्त्रिपरिषदमा पुग्यो ५० अर्बको सहुलियत ऋण सम्वन्धि कार्यविधि, दसैं अघिनै वितरण गरिने |
काठमाडौं । सरकारले बजेट मार्फत ल्याएको ५० अर्बको सहुलियत ऋण कार्यविधि मन्त्रिपरिषदमा पेश भएको छ । राष्ट्र बैंकले तयार गरेको कार्यविधि अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको हो ।
कोभिडको कारण समस्यामा परेका उद्योगीहरुलाई श्रमिकको पारिश्रमिक दिन सरकारले बजेटमार्फत यो कोषको व्यवस्था गरेको थियो । कोष वितरण कार्यविधि राष्ट्र बैंकले एक महिनाअघि नै तयार गरी मन्त्रालय पठाएको थियो । सो कार्यविधि मन्त्रालयले आवश्यक परिमार्जन गरी मन्त्रिपरिषदमा पठाएको मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यले बताए ।
उनका अनुसार मन्त्रिपरिषदबाट स्वीकृत भएपछि तत्कालै सहुलियत ऋण वितरण शुरु गरिनेछ । कोष कार्यविधि तय भए पनि सरकारले स्रोत व्यवस्थापन भने अझै भइसकेको छैन । तत्काल केही रकम राष्ट्र बैंकलाई दिई ऋण वितरण शुरु गर्ने र विस्तारै स्रोतको व्यवस्थापन गर्दै जाने मन्त्रालयको तयारी छ । मन्त्रिपरिषदबाट छिटै स्वीकृत भए ऋण वितरण दसैंअघि नै सुरु गरिने सहसचिव आचार्यको भनाई छ ।
कार्यविधि अनुसार उद्योगीले यो रकम श्रमिकको पारिश्रमिकका लागि मात्रै वितरण गर्न पाउनेछन् । यो रकम वितरणका लागि राष्ट्र बैंकले विभिन्न वाणिज्य वाणिज्य बैंकहरुलाई जिम्मा दिने छ ।
पाँच प्रतिशत ब्याजदरमा ऋण लिन उद्योगीले आफ्नो उद्योगको कामदार संख्या दिनुपर्ने पारिश्रमिक र आवश्यक पर्ने रकम खुलाई बैंक समक्ष निवेदन पेश गर्नुपर्नेछ ।



