युनाईटेड इदी–मार्दीको आईपीओ आजदेखि खुला |
काठमाडौं । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले आज (असोज ७ गते) बाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्राथमिक शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि एक सय रुपैयाँ अंकित दरमा ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पूँजीको २५ प्रतिशत आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यस अनुसार कम्पनीले १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । सो मध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ४ लाख २० हजार कित्ता जारी गरेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।
कम्पनीले निष्काशन गर्न लागेको आइपीओमा स्थानीयले छिटोमा असोज ७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा कात्तिक ५ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आइपीओमा स्थानिय बासिन्दाले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
यसअघि कम्पनीले चैत १० गतेदेखि आइपीओ निष्काशनको तयारी गरेको थियो । तर, कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सो निष्काशन स्थगित गरिएको थियो । बोर्डबाट स्वीकृती प्राप्त भएको दुई महिनाभित्र सार्वजनिक निष्काशन गर्न नसकिएकोले कोभिड १९ को असर समेत समावेश गरी कम्पनीले संशोधित वित्तीय विवरण सहितको विवरणपत्र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत गरी प्रकाशित गरेको बताएको छ ।
सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्राप्त गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।


