असोज ५ देखि आन्तरिक उडान शुरु हुने, पूर्ण क्षमतामा जहाज उडान पाउने निर्णय |
काठमाडौं । असोज ५ गतेदेखि आन्तरिक हवाई उडान शुरु हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ गतेदेखिको आन्तरिक उडान तालिका स्वीकृत गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।
मन्त्रालयले लकडाउन अघिको एयरलाइन्सहरुको बजार हिस्साको आधारमा उडान तालिका स्वीकृत गरी उडान शुरु गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।
लकडाउन अघि भइरहेको उडानको २५ प्रतिशतमात्र उडान हुनेगरी पाँच गतेदेखिस एक महिनाका लागि उडान तालिका स्वीकृत गर्नुपर्ने छ । यसो हुँदा एयरलाइन्सहरुले आफ्नो बजार हिस्साअनुसार उडान तालिका पाउने छन् ।
यसअघि जहाजका आधा सिटमा मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारले निर्णय गरेको भएपनि मन्त्रालयले भने एयरलाइन्सलाई भौतिक दुरी कायम गरेर पूर्ण क्षमतामा जहाज उडान पाउने निर्णय गरिदिएको छ ।
एयरलाइन्सहरुले आधा सिट खाली राखेर व्यावसायिक उडान गर्न नसकिने बताउँदै आएका थिए ।
विमानस्थलमा नयाँ नियम
आन्तरिक हवाई यात्रा का लागि यात्राहरुले बोर्डिंग पास लिनु अगाडि हेल्थ डिक्लेरेसन फर्म भर्नुपर्ने छ। यसरी भरेको फर्म आफूले यात्रा गर्ने एयरालइन्सलाड्ढ बुझाउनुपर्ने छ । यात्रुले पालना गर्नुपर्ने निमयका सन्दर्भमा प्राधिकरणले सार्वजनिक सूचना जारी गर्नुपर्ने छ ।
विमानस्थलमा अनावश्यक भीड बढ्न नदिन मौसम, प्राविधिक वा अन्य कुनै कारणले हुने उडान डिले तथा डाइभर्टका विषयमा एयरलाइन्सहरुले यात्रुलाई एसएमएसको माध्यमबाट सूचना उपलब्ध गराउनुपर्ने छ ।
सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने छ । अक्टुबर १ देखि भने प्राधिकरणले उडान तालिका हेरफेर गर्नसक्ने छ ।
Visited 1 times, 1 visit(s) today


