युद्धमा मारिएका अमेरिकी सैनिकलाई ’हरूवा’ भनेपछि ट्रम्पको आलोचना चुलियो |
आफ्नो एक बयानका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रशस्तै आलोचना खेप्न थालेका छन् । युद्धमा मारिएका अमेरिकी सैनिकहरूलाई ’हरूवा’ र ’बुद्धु’ भनेकोमा उनको आलोचना भएको हो ।
ट्रम्पको यो बयान सबैभन्दा पहिला ’द एट्लान्टिस’ पत्रिकामा छापिएको बिबिसीले जनाएको छ । त्यसपछि यसको अंशलाई एसोसिएटेड प्रेस–एपी) र फक्स न्यूजले प्रकाशित गरेको बिबिसीको समाचारमा उल्लेख छ ।
यध्यपी ट्रम्प र उनका सहयोगीले यसलाई अस्वीकार गरेका छन् । बयान सार्वजनिक भएपछि पूर्व अमेरिकी सैनिकहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन् ।
यसबारेमा प्रगतिशील समूह वोटवेट्स एक भिडिओ पोस्ट गरेको छ । भिडिओमा युद्धमा मारिएका सैनिक परिवारका बालबालिकालाई देखाइएको छ ।
भिडिओमा एक जनाले ’तपाईंलाई थाहा छैन बलिदान के हो’ लेखेका छन् । इराक र अफगानिस्तानमा सैन्य सेवा गरेका पल रेचफ नाम गरेका एक पूर्व अमेरिकी सैनिकले ट्वीट गर्दै ’यसबाट वास्तवमा कसलाई आश्चर्य भएको छ’ भनेका छन् ।
विश्लेषकहरूले ट्रम्पको यस बयानले उनको राष्ट्रपतिमा पुनː निर्वाचित हुने चाहानामा झट्का लाग्नसक्ने बताएका छन् । ’द एटलान्टिसका अनुसार’ सन् २०१८ मा ’हारेका मानिसले भरिएको स्थान’ भन्दै पेरिसमा रहेको अमेरिकी सैनिकहरूको स्मारक स्थलको भ्रमण गर्ने कार्यक्रम रद्ध गरेको समाचार प्रकाशित गरेको थियो ।
पत्रिकाले चार वटा श्रोतको हवाला दिदैं त्यतिबेला पानी परिरहेको र त्यसले ट्रम्पमा आफ्नो कपाल बिगर्ने डर रहेको र युद्धमा मारिएका सैनिकलाई सम्मान गर्नु उनका लागि महत्वपूर्ण नभएको लेखेको छ ।
यही भ्रमणका बेलामा ट्रम्पले बेलेयूवुडमा मारिएका १८ सय अमेरिकी सैनिक बुद्धु भएको बताएका थिए । यिनै सैनिकहरूका कारण पहिलो विश्वयुद्धमा जर्मन सेना पेरिससम्म पुग्न असफल भएका थिए ।
’द एट्लान्टिसले’ आफ्नो रिपोर्टमा गोपनिय सूत्रको हवाला दिएको छ भने एपीले भने आफूले यसलाई स्वतन्त्ररूपमा पुष्टि गरेको जनाएको छ । यस्तै फक्स न्यूजका संवादाताले केही बयानहरूको पुष्टि गरेको बताएका छन् ।
ह्वाइट हाउसले समाचारलाई ’झूटो समाचार’ भनेर प्रतिवाद गरेको छ । उसले खराब मौसमका कारण हेलिकप्टर उड्न नसकेपछि कार्यक्रम रद्ध गर्नुपरेको बताएको छ । यसको पुष्टि ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले हालै लेखेको किताबमा गरेका छन् । यध्यपी उनी ट्रम्पका प्रखर आलोचक हुन् ।
ट्रम्पको भनाइको आलोचना गर्दै आसन्न राष्ट्रपति चुनावमा उनलाई सो पदमा चुनौती दिइरहेका जो बाइडनले ट्रम्प देशको नेतृत्व गर्न असक्षम रहेको बताएका छन् ।


