पचास हजार विद्यार्थीलाई अन्तर्राष्ट्रिय कम्प्युटर कोर्सको नि:शुल्क प्रशिक्षण दिँदै डिजी स्कुल |
काठमाडौं । शैक्षिक गतिविधि ठप्प प्राय: रहेको कोभिड–१९ को विषम परिस्थितिमा विद्यालय तहमा कम्प्युटर कोर्स अध्यापन गराउने डिजी स्कूलले पचास हजार विद्यार्थीलाई अनलाइनबाटै कम्प्युटर शिक्षा दिने अभियान ल्याएको छ ।
बेलायत सरकार मातहत दर्ता भई विद्यालय र उच्च शिक्षासम्बन्धी पाठ्यक्रम निर्माण गर्ने एनसिसी एजुकेसनले विद्यालय तहको लागि तयार गरेको कम्प्युटर कोर्स डिजी प्रोग्रामलाई नेपालमा डिजी स्कुल नाम दिइएको हो ।
लामो समयदेखि आइटी र व्यवस्थापनमा अध्ययन गराउँदै आएका सफ्ट्वेरिका कलेज अफ आइ टि एन्ड इ कमर्स र सनवे कलेजको सहकार्यमा डिजी स्कुल नेपालमा सञ्चालित छ ।
हालसम्म नेपालका करिब पचास बढी स्कुलहरू डिजी स्कुलको कम्प्युटर पाठ्यक्रमबाट लाभान्वित भएका छन् । डिजी स्कुलको सहयोगमा ती स्कुलले डिजी स्कुलको पाठ्यक्रम अनलाइन कक्षामार्फत् पढाउँदै आएका छन् ।
डिजी स्कुलले नि:शुल्क शिक्षा व्यवस्थापन प्रणालीसँगै विद्यालयहरूलाई अनलाइन कक्षा, अनलाइन परीक्षा, अनलाइन प्रगति, अनलाइन नतिजा, क्विज र प्रमाणपत्रसहित विद्यालय ब्यवस्थापन सफ्टवेयर पनि प्रदान गर्दछ ।
कोभिड–१९ को महामारीको अवस्थामा डिजी स्कुलले कम्प्युटर कोर्षको भिडिओ कक्षा, अनलाइन असाइनमेन्ट, अध्ययन सामग्री र परीक्षाको व्यवस्थापन सबै अनलाइनबाटै गरेको छ ।
विद्यार्थीहरूले प्रत्येक पाठ्यक्रम पूरा गरेबापत प्रमाणपत्र प्राप्त गर्नेछन् । डिजी स्कुलका संस्थापक एवम् सिइओ विज्ञान श्रेष्ठले भने,‘यो समय प्रविधिको हो। कम्प्युटर सीप आधारभूत बनाउनुपर्दछ, अर्थात् स्कुलको स्तरबाटै। आजका बच्चाहरूले कम उमेरमै कोडिङ, ग्राफिक्स, भिडिओ सम्पादन सिकिरहेका छन् । नेपालका स्कुलका विद्यार्थीहरू पनि त्यस्तो अवसरबाट बञ्चित हुनु हुँदैन ।’
डिजी स्कुलको अवधारणा भनेको प्रविधिको प्रयोग गरी स्कुलस्तरमा कम्प्युटर शिक्षा र डिजिटल नेपालको सपना साकार पार्नु रहेको श्रेष्ठले बताए । कोभिड–१९ को महामारीले देशभरका सबै विद्यालय बन्द छन् । केही विद्यालयहरूसँग पर्याप्त कम्प्युटर प्रयोगशाला र शिक्षकहरू समेत छैनन् । त्यसैले प्रविधिको सदुपयोग गरी वेबसाइटमा लग इन गरेर डिजी स्कुलको पाठ्यक्रम अध्ययन गर्न सकिने श्रेष्ठ बताउँछन् ।
डिजी स्कुलमार्फत् कम्प्युटर कोर्स गर्न चाहने विद्यालय एवम् विद्यार्थीले डिजी स्कुलको वेबसाइट (digischoolglobal.com/register) मा गएर आफ्नो जानकारीसहित दर्ता गर्न सक्नेछन् वा ९८०१२२४२५५ मा सम्पर्क गरेर एवं Info@digischoolglobal.com मा इमेल गरेर पनि सहभागी हुन सक्छन् ।


