दाङमा साँझ ७ बजेपछि सवारी सञ्चालन र हिँडडुलमा रोक |
दाङ । भदौ १ गतेदेखि लागू हुनेगरी दाङमा बेलुका सात बजेपछि सवारी साधन चलाउन नपाइने भएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार घोराहीमा बसेको बैठकले भदौ १ गतेदेखि ८ गतेसम्म बेलुका ७ बजेपछि बिहान ५ बजेसम्म सवारी साधन चलाउन तथा एक ठाउँबाट अर्काे ठाउँमा आवतजावत गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक गोविन्दप्रसाद रिजालले तीजको अवसरमा भेला भएर नाचगान गर्न र मन्दिरहरुमा जान समेत प्रतिवन्ध लगाउने निर्णय भएको बताए ।
‘व्यापारी साथीहरुले अहिले नै जिल्लामा पुरै लकडाउन वा निषेधाज्ञा जारी नगरौं भन्ने आग्रह गर्नुभयो,’ प्रजिअ रिजालले भने ‘त्यसलाई मध्यनजर गर्दै बेलुका ७ बजेपछि बिहान ५ बजेसम्म हिँड्डुल गर्न नपाउने निर्णय गरिएको हो ।’
जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले तीजमा हुन सक्ने संभावित घटनाहरुलाई समेत मध्यनजर गर्दै यस्तो निर्णय भएको बताए । यातायातका साधनमा तोकेको भन्दा बढी यात्रु राखेर सञ्चालन गर्न नदिने निर्णय समेत बैठकले गरेको एसपी चन्दले जानकारी दिए ।
नारीहरुको महान चाड तीजमा अघिल्ला वर्षजस्तो सार्वजनिक स्थल वा मन्दिरहरुमा भेला हुन र नाचगान गर्न नदिने निर्णय भएको जानकारी दिए ।
संभावित कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै सर्वसाधारण सबैलाई सजग र सचेत रहन आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ ।


