देशभर ३३८ जनामा कोरोना संक्रमण पुष्टि, १४० जना संक्रमित निको |
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा १४० जना संक्रमित निको भएर घर फर्किएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १६ हजार ४९३ जना पुगेको छ । योसँगै अब सक्रिय संक्रमितको संख्या ६ हजार ७३८ रहेको छ भने आज ८ हजार ४३२ जनाको परीक्षण भएको छ ।
हालसम्म निको हुनेमा प्रदेशगत रुपमा प्रदेश नम्बर १ मा ९ सय ४७, प्रदेश नम्बर २ मा ३ हजार ३ सय ५७, बागमती प्रदेशमा ६ सय ३ र गण्डकी प्रदेशमा १ हजार ४ सय ६५ जना डिस्र्चाज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ८१, कर्णाली प्रदेशमा १ हजार ९ सय र सुदूरपश्चिम प्रदेशमा ४ हजार ४० गरी आजसम्म १६ हजार ४ सय ९३ जना संक्रमित डिस्चार्ज भएका छन् ।
प्रदेश नम्बर १ मा ५ सय २९, प्रदेश नम्बर २ मा ३ हजार १ सय ४४, बागमती प्रदेशमा १२ सय १० र गण्डकी प्रदेशमा २ सय ३३ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ सय ४३, कर्णाली प्रदेशमा १ सय ८४ र सुदूरपश्चिम प्रदेशमा ८ सय ९५ गरी ६ हजार ७ सय ३८ जना संक्रमित विभिन्न अस्पतलाका आइसोलेसनमा उपचाररत रहेका छन् ।
प्रदेश नम्बर १ मा २ हजार ६ सय ६४, प्रदेश नम्बर २ मा १ हजार ९ सय ३०, बागमती प्रदेशमा १ हजार २२ र गण्डकी प्रदेशमा ९ सय ५५ जना क्वारेन्टिनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ६ सय २७, कर्णाली प्रदेशमा ७ सय १९ र सुदूरपश्चिम प्रदेशमा १ हजार ८ सय ४२ गरी देशभरी १० हजार ७ सय ५९ जना क्वारेन्टिनमा रहेका छन ।
मन्त्रालयले नीजि, सामुदायिक, सरकारी र गैर सरकारी अस्पतालले २० प्रतिशत बेड कोभिड विरामीहरुको लागि छुट्याएर सम्बन्धित हब अस्पताललाई सूचना गर्न निर्देशन पनि दिएको छ ।


