विज्ञानका विद्यार्थीलाई लक्षित गरेर स्टेम फाउन्डेसनको प्रदेशस्तरमा कार्यक्रम |
काठमाडौं । स्टेम फाउन्डेसन नेपालले प्रदेशस्तरमा डिजिटल सेमिनार गर्ने भएको छ । विज्ञानका विषयगत प्रतिभा पहिचान गर्ने अन्तर्राष्ट्रिय ओलम्पियाडबारे जानकारी गराउने र सो प्रतियोगितामा विद्यार्थी सहभागिताका लागि दायरा बढाउने अभियान अन्तर्गत कार्यक्रम गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टको सहकार्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहजीकरणमा प्रदेशस्तरमा सेमिनार गर्न लागिएको फाउन्डेसनका अध्यक्ष सर्जन बिसीले जानकारी दिए ।
उनका अनुसार विज्ञान शिक्षक समाज नेपाल, त्रि.वि. विज्ञान अनुसन्धान केन्द्र, प्याब्सन, एनप्याब्सनलगायतको सहकार्यमा प्रदेशमा एक-एक दिने कार्यक्रम गर्न लागिएको हो ।
सहभागिताका लागि स्टेम फाउन्डेसनको वेवसाइट र फेसबुक पेजबाट पनि रजिष्ट्रेसन गर्न मिल्ने उनले बताए । प्रदेश १ मा साउन २६, प्रदेश २ मा साउन ३०, गण्डकीमा साउन ३२, प्रदेश ५ मा भदौ २, कर्णालीमा भदौ ४, सुदुरपश्चिममा भदौ ७ मा कार्यक्रम १२:३० देखि ३:३० बजेसम्म हुने उनले बताए ।
कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, प्रदेशमा शिक्षा हेर्ने मन्त्रीलगायतको सहभागिता रहने फाउन्डेसनले जनाएको छ ।


