वीरगंज आन्तरिक सुख्खा बन्दगाहको जिम्मा प्रिस्टिन भ्याली ड्राइ पोर्टलाई |
काठमाडौं । वीरगंज आन्तरिक सुख्खा बन्दरगाह (इन्ल्याण्ड क्लियरेन्स डिपो) को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी प्रिस्टिन भ्याली ड्राइ पोर्टले पाएको छ । शुरुवाती दिनदेखि अहिलेसम्म भारतको सरकारी निकाय भारतीय रेल्वेको अंग कन्नकोर रेलवेजले स्थानीय साझेधार हिमालयन टर्मिनल प्रालिमार्फत सञ्चालन गर्दै आएको थियो ।
१६ बर्ष अघिदेखि सञ्चालनमा आएको बन्दरगाहको व्यवस्थापन पहिलो पटक निजी साझेधारीको काँधमा पुगेको नेपालको सुख्खा बन्दरगाहको नियमक नेपाल यातायात विकास निगमका निर्देशक हेमेन्द्र मोहन शाहीले बताए ।
रेल सञ्जालमा जोडिएको बन्दरगाहले नेपालको कन्टेनर यातायातको ५० प्रतिशत हिस्सा व्यवस्थापन गर्दै आएको छ र आगामी दिनमा नयाँ व्यवस्थापनले बाणिज्य व्यापारमा थप टेवा पुर्याउनेमा विश्वस्त रहेको जानकारी गराए ।
एक कार्यक्रमका बीच नयाँ व्वस्थापनले पर्सा जिल्लाको सिर्सियामा रहेको ३८ हेक्टरमा रहेको बन्दरगाहको व्वस्थापन र सञ्चालनको जिम्मेवारी दिइएको हो । २०५७ सालदेखि निर्माण शुरु भई २०६१ सालदेखि सञ्चालनमा आएको वीरगंज सुख्खा बन्दरगाहको ४५०० कन्टेनरहरु व्यवस्थापन र भण्डारण गर्ने क्षमता छ । भारतको कोलकाता र विशाखापट्नम बन्दरगाहबाट रक्सौंल हुँदै सोझै वीरगंज बन्दरगाहसम्म भारतीय रेलमार्फत मालवाहक रेलहरु आवतजावत गर्दछन् ।
भ्याली टर्मिनल्सका निर्देशक माधव बरालले कोभिड–१९ को महामारी शुरु भएपछि बन्दरगाह कूल क्षमताको ३५ प्रतिशतको हाराहारीमा मात्रै सञ्चालनमा रहेको बताए। महामारीको प्रकोप समाप्त हुने समयसीमा यकिन नभएको हुनाले आयात र निर्यातमा आएको ह्रास थप बढ्ने संभावना रहेको उनले बताए ।
टर्मिनल व्यवस्थापन कम्पनिका निर्देशकहरु रजनिश कुमार र बाबुराजा रावलले यो साझेदारीले लाभग्राहीलाई प्रधान गर्ने सेवामा स्तरोन्नति र व्यापक रुपान्तरण गरिने बताए । उनका अनुसार सँगँगै पूर्वाधारको विस्तार र स्तरोन्नति गरि र बन्दरगाहको क्षमता अभिबृद्धि गराउने बताए ।
प्रिस्टिन भ्याली ड्राइ पोर्ट प्रालिको भारतीय साझेदार ‘प्रिस्टिन मेगालजिस्टिक्स पार्कले आफ्नै ३५ वटा कन्टेनर रेलहरु मार्फत बिगत १० बर्षदेखि लुधियाना, कानपूर, सिलिगुढी, पट्ना लगायत धेरै स्थानहरुमा इन्ल्याण्ड क्लियरेन्स डिपोहरु सञ्चालन गर्दै आएको छ।
पहिलो पटक अन्तराष्ट्रिय बजारमा पनि प्रवेश गरेको छ। नेपाली साझेदार ‘भ्याली टर्मिनल्स’ भ्याली ग्रुपको लजिस्टिक्स क्षेत्रमा काम गर्ने भगिनी कम्पनी हो। भ्याली ग्रुपले कुखुराजन्य उत्पादन र बितरण, फास्ट फुड, अटो मोबाइल, निर्माण सामाग्री उत्पादन, पूर्वाधार, आइटी लगायतका क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको छ।


