सजिलो मिल्सले मंगलबारबाट अनलाईन फुड डेलिभरी शुरु गर्दै, शुरुवातामै ३५ वटा रेष्टुरेन्टसँग सम्झौता |
काठमाडौं । व्यक्तिले चाहे अनुसारको तयारी खाना घर–घरमा पुर्याउने उद्देश्यले सजिलो मिल्स प्रालिले भोलि मंगलबारबाट सेवा शुरु गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा काठमाडौंभित्र संचालनमा रहेका रेष्टुरेन्टहरुका खानाहरु ग्राहको स्वाद, इच्छा र रोजाई अनुसार अर्डर गरेको एक घण्टामा घरमा पुर्याउने लक्ष्य लिएको छ ।
हाल सम्म ३५ वटा रेष्टुरेन्ट सँग यससम्बन्धी सम्झौता भइसकेको कम्पनीले बताएको छ । दोस्रो चरणमा घरमा तयार हुने सस्तो, गुणस्तरीय र घरेलु स्वादको खाना अफिस, कार्यालय र कर्पोरेट हाउसमा पुर्याउने कार्यक्रम बनाएको छ ।
घरमा तयार हुने खानाको लागि उपत्यका भित्र पाँच–पाँच जना महिलाको समूह बनाई पच्चीस स्थानमा खाना बनाउने केन्द्र पव्लिक प्राइभेट पार्टनरसिपमा तयार गरिनेछ। उनीहरुलाई आवश्यक सामाग्री, तालिम र अरु सुविधा उपलब्ध गराएर रोजगारी श्रृजना गरिनेछ र घरको काम सकाएर र फुर्सदमा रहने महिला जनशक्तिलाई सक्रिय र उत्पादनशिल बनाउने प्रयास गरिने बताएको छ ।
कम्पनीले लामो समय विदेशमा सेवा दिइरहेका व्यक्तिहरु मिलेर देशमा केही गरौ भनेर अनलाइन फुड डेलिभरीको कार्य प्रारम्भ गर्न गइरहेको हो। अष्ट्रेलिया र क्यानाडाबाट फर्केका चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई र इकमर्स विशेषज्ञ डा सुनिल सिंह सिंजापती तथा लण्डनमा व्यवसाय गरी फर्कका होटल व्यवसायी विष्णु बहादुर कार्की र बैंकररबीमा व्यवसायी रमेशकुमार भट्टराईको संयुक्त लगानी रहेको सजिलो मिल्सले उपत्यकावासीको मन जितेर रोजगारी श्रृजनाको साथै गुणस्तरीय कारोबार विस्तार गर्दै जाने उल्लेख गरेको छ ।


