फोर्ड एन्डेभर नेपाली बजारमा, मूल्य १ करोड ४९ लाख |
काठमाडौं । जिओ अटोमोबाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । यो विश्वको पहिलो १०–स्पिड स्वचालित ट्रान्समिसन भएको कम्पनीको दाबी छ । यसमा नयाँ २.० लिटर इकोब्लु डिजेल इन्जिन राखिएको छ । यो सेग्मेन्टका गाडीमा १४ प्रतिशतसम्म इन्धन खपतमा सुधार गरिएका, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ सेवा, उत्कृष्ट पर्फमेन्स भएको कम्पनीको दाबी छ ।
पूर्ण सुरक्षा मापदण्ड पूरा गरी निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीको दाबी छ । यसमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ । यसमा गाडीभित्रको ध्वनिको उत्सर्जनलाई कम गर्ने प्रविधिको पनि प्रयोग गरिएको छ ।
एन्डेभरको यस संस्करणमा १७० पिएस पिक पावर र ४२० टर्कका साथ यात्रालाई सहज बनाउने कम्पनीको दाबी छ । फोरह्विल ड्राइभ भेरियन्टको इकोब्लुयुक्त यस गाडीले १२.४ किलोमिटर प्रतिलिटर माइलेज दिने जनाइएको छ । यस गाडीमा यस एन्डेभरपूर्ण एलइडी हेडल्याम्प राखिएको छ ।
अल न्यू कन्टेम्पोरेरी स्क्वायर डिजाइनमा निर्माण गरिएको यस एलइडी हेडल्याम्पलाई तल र माथि दुवै बिममा कम्तीमा २० प्रतिशत प्रकाश बढाउने गरी निर्माण गरिएको छ । यो कारमा ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, आरामदायी सिट, पावर एडजस्टेबल ओआरबिएमलगायतका विशेषता राखिएका छन् ।
यस सेग्मेन्टमा पहिलोपटक सामान्य हिउँ परेको सडक, हिलोयुक्त सडक, घाँसयुक्त सडक, बालुवा र चट्टानयुक्त सडक गरी चारवटा मोडमा टेरेन म्यानेजमेन्ट सिस्टम (टिएमएस)को प्रयोग गरिएको कम्पनीको दाबी छ । यसको दोस्रो रो र तेस्रो रो सिट फोल्ड गरी २ हजार १० लिटरसम्म कार्गो होल्ड गर्न मिल्ने जनाइएको छ ।
यसमा अर्धस्वचालित समानान्तर पार्क एसिस्ट, पुस स्टार्ट बटन, पछाडिको गेटमा ह्यान्ड फ्री पावर लिफ्ट, अगाडि र पछाडि दुवैतर्फ पार्किङ सेन्सर रहेको छ । तीन वर्ष वा १ लाख किलोमिटर वारेन्टी दिइएको यो गाडीको प्रारम्भिक मूल्य १ करोड ४९ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।


