चीनले सालकलाई परम्परागत औषधिको सूचीबाट हटायो |
सालक त्यो जीव हो, जो लोपन्मुख जनावरहरुको सूचीमा पर्दछन् । त्यसैले विश्व वन्यजन्तु संगठनले यसलाई खतरामा परेको जीवको सुचीमा राखेको छ । यसको अर्थ के हो भने यसको शिकार, विक्री गैरकानूनी हो ।
परम्परागत चिनियाँ औषधि विज्ञानमा चाहिँ सालकको ठूलो भाउ रहँदै आएको छ । त्यसमा यसको खपटा प्रयोग गर्ने गरिन्छ । त्यसबाहेक, कोरोनाको महाव्याधि फैलिनुपूर्व यसको मासुको व्यापार पनि चीनमा हुने गर्थ्यो ।
तर अब चीनले सालकलाई परम्परागत चिनियाँ औषधीको औपचारिक सूचीबाट हटाएको छ । गत मंगलबार मात्रै चीनले यो कदम चालेको हो ।
संसारभरिमै सबैभन्दा बढी गैरकानूनी व्यापार हुने जीवमा सालक पनि पर्दछ । त्यसो हुनुको मुख्य कारण चाहिँ परम्परागत चिनियाँ औषधीमा यसको प्रयोग नै हो । तर वैज्ञानिकहरुका अनुसार चिनियाँहरुले विश्वास गरेजस्तो सालकमा त्यस्तो कुनै औषधीय गुण हुँदैन ।
अहिले विश्वलाई नै हायलकायल पारिरहेको कोरोनामहाव्याधिको उत्पत्तिको स्रोत चीनको ऊहानस्थित मासु बजारलाई मानिएको छ । अझ धेरैको विश्वासमा त त्यस महामारीको मुख्य स्रोत नै सालक हुनुपर्छ ।
कोरोना महामारीको कारण नै चीनले यसअघि नै जंगली जनावरहरुलाई मासुको रुपमा प्रयोग गर्ने गरी बिक्रीवितरण गर्न प्रतिबन्ध लगाइसकेको थियो । तर अनुुसन्धानका लागि तथा औषधीका लागि भने त्यसको व्यापारमा प्रतिबन्ध लगाइसकेको थिएन । तर अब कुनै पनि प्रयोजनको लागि सालकको व्यापार गर्न नपाइने भएको छ ।
चीनको यो कदमलाई विश्व वन्यजन्तु संगठनले ‘दह्रो स्वागत’ गरेको छ । उसले यसलाई सालकको गैरकानूनी व्यापारका विरुद्ध ठूलो राहतको संज्ञा दिएको छ ।
स्रोत ː साइन्स एलर्ट



