भारतमा एकै दिन ३५ सय बढी संक्रमित, चीनलाई उछिनेर संसारकै ११ स्थानमा |
कोरोना महामारीको उद्गम चीनभन्दा धेरै पछि संक्रमण फैलिएको भारतको पछिल्लो स्थिति चीनभन्दा नराम्रो छ। शुक्रबारसम्म कोरोना संक्रमणमा चीनलाई समेत उछिनेर भारत विश्वव्यापी सूचीमा एघारौं स्थानमा पुगेको छ । यसअघि चीनभन्दा एक स्थान तल थियो ।
शुक्रबार राति १० बजेसम्मको तथ्यांकअनुसार भारतमा ८५,५४६ जनामा संक्रमण पुष्टि भएको छ । चीनमा अहिलेसम्म ८२,९३३ जना संक्रमित छन् । शुक्रबार एक दिनमै भारतमा ३,५४९ जनामा संक्रमण फेला परेको थियो । यो अहिलेसम्मकै उच्च दर हो ।
भारतको कोरोना मृत्यु भने चीनको तुलनामा झन्डै आधा छ। चीनमा अहिलेसम्म ४,६३३ जनाले ज्यान गुमाएका छन् । भारतमा यो संख्या २,७४६ छ । पछिल्लो २४ घन्टामै भारतमा सय जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।
भारतमा पछिल्लो समय दिनकै हजार–दुई हजारका दरले संक्रमित बढ्दै गएको पाइन्छ । चीनमा भने दैनिक चार–पाँच जना मात्र नयाँ बिरामी फेला परेका छन् । यस आधारमा भारतमा संक्रमित संख्या अझ बढ्दै जाने देखिन्छ ।
यति मात्र होइन, भारतमा कोरोना भाइरस सक्रिय अवस्थामै छ । यहाँ कुल बिरामीमध्ये ५२,७११ जनामा भाइरस सक्रिय रहेको तथ्यांकले देखाउँछ । जबकि, चीनमा यस्तो संख्या सय जनाभन्दा कम छ ।
लामो खुला सीमा रहेको र दिनका दिन सामूहिक वा लुकिछपी मान्छे ओहोरदोहोर गरिरहेको भारतमा यति ठूलो संख्यामा भाइरस सक्रिय देखिनु नेपालका लागि जोखिमको अवस्था हो ।
भारतका महाराष्ट्र, दिल्ली, उत्तरप्रदेश, पश्चिम बंगाल, पञ्जाब लगायत प्रान्तमा धेरै संक्रमण फेला पर्नुले नेपालको चुनौती अझै थपेको छ । यी प्रान्त नेपालबाट काम गर्न जानेहरूका लागि प्रमुख गन्तव्य क्षेत्र हुन् ।
महाराष्ट्र भारतकै कोरोना ‘हटस्पट’ हो । भारतीय अखबार ‘द इन्डियन एक्सप्रेस’ का अनुसार यहाँ अहिलेसम्म २७,५२४ जनामा संक्रमण पुष्टि भएको छ । चौथो स्थानमा रहेको दिल्लीमा ८,४७० जना बिरामी छन् भने सातौं स्थानको उत्तरप्रदेशमा ३,९०२, आठौं स्थानको पश्चिम बंगालमा २,३७७ र दसौं स्थानको पञ्जाबमा १,९३५ जना संक्रमित छन् ।
महाराष्ट्रको मुम्बईमा फेला परेका कोरोना बिरामी नै अन्य प्रान्तको दाँजोमा बढी छ । मुम्बईमा १६,७३८ जना कोरोना बिरामी रहेको इन्डियन एक्सप्रेसले जनाएको छ । मुम्बई पनि नेपालीहरूका निम्ति प्रमुख रोजगार गन्तव्य हो ।
भारतले झन्डै डेढ महिनाको लकडाउनपछि केही दिनअघि निश्चित रूटमा रेल आवागमन खुला गरेको छ । खासगरी मुम्बई, दिल्लीजस्ता ठूला सहरमा रहेका आप्रवासी कामदारलाई घर फर्कन सजिलो होस् भनेर रेल सेवा सुरू गरिएको हो ।
यसले मुम्बई, दिल्ली लगायत सहरमा काम गर्न गएका नेपालीहरूलाई फर्कन त सहज भएको छ, सँगसँगै भाइरस छिर्ने जोखिम पनि बढेको छ ।
रेल सेवा सुरू भएपछि आवागमन गर्ने कामदारहरूले सबभन्दा बढी भाइरस फैलाइरहेको इन्डियन एक्सप्रेसले जनाएको छ ।



