तेस्रो पक्ष बीमा शतप्रतिशत बढाउने तयारी | ५ लाखको बीमा रकम १० लाख बनाइने

काठमाडौं । सरकारले तेस्रो पक्ष बीमा रकमलाई शत प्रतिशत बढाउने भएको छ । हाल पाँच लाख रहेको बीमा रकम लाई बढाएर १० लाख बनाउने तयारीमा यातायात व्यवस्था विभाग लागेको छ ।
सवारी साधान दुर्घटना हुँदा पीडित पक्षले पाउने तेस्रो पक्ष बीमा वापतको ५ लाख रुपैयाँ र घाइतेको उपचार खर्च वापतको बीमा कम्पनीबाट पाउने ३ लाख रुपैयाँलाई बढाउन यातायात व्यवस्था विभागले सार्वजनिक प्रस्ताव माग गरेको हो । यातायात व्यवस्था विभागले तेस्रो पक्ष बीमा रकमको पुनरावलोकनको काम सुरु भइसकेकाले हाल प्रचिलित बीमासम्बन्धी व्यवस्थामा के कति प्रिमियम रकममा के कति बीमा रकम वृद्धि गर्न सकिन्छ भन्ने विषयमा बीमा कम्पनीबाट प्रस्ताव माग गरेको छ ।
दुर्घटनामा टाउको र स्माइनल इन्जुरी भई सरकारी चिकित्सकको सिफारिशमा लामो समय उपचार गराउनुपर्ने बिरामीको हकमा ६ महिनासम्मको उपचारका लागि दिने प्रिमियम रकममा बहन गर्न सकिने रकमसहित प्रस्ताव माग भएको विभागले जानकारी दिएको छ । तेस्रो पक्षीय दुर्घटना बीमा रकम कम भएको महसूस गरेर यसलाई पुनरवलोकन गर्न लागिएको विभागको भनाइ छ ।
बीमा दाबी रकम बढाउन प्रिमियम कति चाहिन्छ भनेर बीमा कम्पनीसँग विभागले १५ दिनको समय दिएर प्रस्ताव माग गरेको छ । बीमा कम्पनीले गर्ने प्रस्तावमा तथा बीमा कम्पनीले पाउने प्रिमियमका आधारमा रकम बढाउन सकिने जानकारी विभागले दिएको छ ।
पछिल्लो समय यातायातमा सिण्डिकेट अन्त्य भएपछि पीडितले पाउने उपचार रकम कसले दिने र कसरी भन्ने विषयमा अन्योल भइरहेको छ । यस अघि यातायात समितिले आफ्नो कोषबाट व्यवहोर्ने गरेका थिए ।
सिण्डिकेट अन्त्यपछि सरकाले यो कोषको रकम चलाउन दिएको छैन । रकम चलाउन नपाएको र यातायात समितिलाई निष्क्रिय बनाएका कारण पीडितलाई सरकारले नै आवश्यक प्रक्रिया पुर्याएर कोषको रकम दिलाउन पहल गरिरहेको छ ।