अनलाइन कक्षा निर्दे्शिका जारी, आदरार्थी शब्द प्रयोग गर्नु पर्ने |
काठमाडौं । कोभिड १९ (नोवल कोरोना भाइरस) महामारीविरुद्धको लकडाउन लम्बिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनलाइन कक्षा सञ्चालनसम्बन्धी निर्दे्शिका जारी गरेको छ ।
त्रिवि कार्यकारी परिषदबाट स्वीकृत निर्दे्शिकामा कक्षा सञ्चालनको पूर्व तयारी, कक्षा सञ्चालन चरण, आचार संहिता र कारबाही गरी चार खण्ड छन् । जसमा अनलाइन कक्षामा सहभागी विद्यार्थीले शिक्षकसँग अदरार्थी शब्दको प्रयोग गर्नुपर्ने र नगरे कारवाही गरिने निर्दे्शिकामा उल्लेख छ ।
‘विद्यार्थीहरूले शिक्षकहरूसँग सम्वाद गर्दा आदरार्थी शब्दको प्रयोग गर्नुपर्नेछ । कसैलाई पनि अनादर गर्नुहुँदैन’ निर्दे्शिकामा भनिएको छ ।
कक्षामा सहभागी हुँदा शिक्षक र विद्यार्थीले अनिवार्य औपचारिक पोशाक लगाउनु पर्ने, विद्यार्थी र शिक्षकले अनलाइन कक्षामा प्रयोग गरिएका सामग्री फेसबुकमा सार्वजनिक गर्न नपाइने भनिएको छ ।
पूर्णकालीन शिक्षकहरूले विश्वविद्यालयको विभाग, स्कुल वा आंगिक क्याम्पस बाहेक अन्य शैक्षिक संस्थाको अनलाइन कक्षामा सहभागी हुन नपाइने आचार संहिता खण्डमा उल्लेख छ ।
निर्दे्शिकामा उल्लेख आचार संहिता पालना गर्ने विद्यार्थी, शिक्षक वा कर्मचारीलाई विश्व विद्यालयको नियम अनुसार कारवाही गरिने भनिएको छ ।
कक्षा सञ्चालन यसरी हुन्छ
अनलाइन सञ्चालनका लागि शिक्षकले जुम, गुगल क्लास र एमएस टीम मध्ये एउटा छनोट गर्नेछन् । कक्षा सञ्चालन (होस्ट) को जिम्मेवारी विषय शिक्षकले पाएका छन् ।
विद्यार्थी जानकारी सिट, अनलाइन कक्षा तालिका अग्रिम रुपमा उपलब्ध गराउनुपर्नेछ । त्यस्तै विद्यार्थी र शिक्षकहरुको हाजिरी रेकर्ड समेत राख्नुपर्ने निर्दे्शिकामा उल्लेख छ । तोकिएका कर्मचारीले हाजिरी राख्ने र निकाय प्रमुखले प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको छ ।
हाजिरी नभएको अवस्थामा भने शिक्षक तथा कर्मचारीले पारिश्रमिक पाउने छैनन् । अनलाइनमा काम गर्ने कर्मचारीलाई कार्यालय समयभन्दा बढी काम गराउनु परेमा सो अवधिको अतिरिक्त पारिश्रमिक उपलब्ध गराउन सकिने निर्दे्शिका उल्लेख छ ।
शिक्षकले एक्सल, वर्ड, गुगल ड्राइभ आदिबाट विद्यार्थीलाई गृहकार्य दिने भनिएको छ । त्यस्तै, कुनै जायज कारणले नियमित कक्षामा उपस्थित हुन नसकेका विद्यार्थीहरुलाई कक्षाको रेकर्ड लगायतका अन्य शैक्षिक सामग्री पछि उपलब्ध गराउन सकिन्छ ।
कतिपय विद्यार्थी भर्ना भएका तर कक्षा सञ्चालन हुन नसकेका कार्यक्रमहरुको अनलाइनबाट अभिमुखीकरण गरेर पनि कक्षा संचालन गर्न सकिने व्यवस्था गरिएको छ ।


